काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा हासिल गरेको जितलाई लिएर सिंगो देशले खुशी मनाइरहेको छ।
एमएफएन टाइटल होल्डर भारतीय फाइटर चोंगरेंग कोरेनलाई पराजित गर्दै उनले जित हात पारेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हाँसिल गरेका हुन्।
कोरेनले, ‘रविन्द्र बच्चा हो, मसँग खेल्न नआए हुन्छ…’ जस्तो सस्तो टिप्पणी गरेकाबेला उनले हासिल गरेको जित झन चर्चाको विषय बनेको छ।
बझाङका रविन्द्र्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन्।
शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेपनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए।
तेस्रो राउण्डमा खेलको मोड बदलियो। रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकटमा पार्यो। अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओद्वारा विजेता घोषित गरे।
यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्। विजयी क्षणमा रंगशाला उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झन्डा गर्वका साथ फहराइएको थियो।
यो जितलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिँदै खुशी व्यक्त गरेका छन्। उनको जितमा भुइँमान्छेदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुले गर्व व्यक्त गरेका छन्।
चोंगरेंग कोरेन म्याट्रिक्स फाइट नाइट रविन्द्र ढाँट