काठमाडौं । ‘माइती देवी’बाट अपभ्रंस हुँदै मैतीदेवीका रुपमा कहलिएको यस पवित्र शक्तिपिठको महिमा ४ सय वर्ष पुरानो मानिएको छ।
राजधानी काठमाडौंको मध्यभागमा रहेको यो शक्तिपीठ निकै प्रतिद्ध छ। वरीपरि वस्तीले घेरिएको यस पञ्चकुमारी मैतीदेवीकाबारे अनेकन जनश्रुतिहरु छन्।
दर्शनार्थीहरुको सदाबहार बाक्लो उपस्थिति रहने यस मैतीदेवी माताको आँगनमा बडादशैँको अवसरमा त झन दर्शनार्थीहरुको ठूलो घुइँचो नै लाग्ने गर्छ।
यो मन्दिरलाई देवीहरुको माइतीका रुपमा विभिन्न धर्मग्रन्थमा उल्लेख गरेको पाइन्छ।
किंवदन्ती र जनश्रुति
मन्दिरबारे अनेकन जनश्रुति छन्। पौराणिककालमा पञ्चकन्याहरु आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए रे ! त्यहीबेला बाख्रा चराइरहेका एक तान्त्रिकले देश रक्षाका लागि तन्त्र शक्तिद्वारा तीं देवीहरुलाई यहाँ बस्न बाध्य पारे। तिनै पञ्चदेवीको माइतीका रुपमा यस शक्तिपिठलाई माइती देवी हुँदै मैतीदेवी भन्न थालियो ।
विकिपिडियामा उल्लेख गरिए अनुसार यस मन्दिरबारे अर्को पनि किंवदन्ती छ। जसमा हालको धोवीखोला अर्थात रुद्रमतीको किनारमा एक जना किसान (मुनिकार)ले खेत खन्ने बेला एउटा ठूलो ढुंगा फेला पारे। त्यसलाई सार्न उनले हजार प्रयत्न गरे तर सकेनन्।
किसान थाकेर त्यहीँ निदाए। त्यहीबेला आकाशमार्गबाट पञ्चकुमारीहरु मयूरमा सयर भएर उडिरहेका बेला मयूरका प्वाँखले तीं किसानको निद्रा खुल्यो। उनले पञ्चकुमारीलाई आफूले भोगेको घटना वर्णन गरे।
त्यो सुनेर देवीहरु खुशी हुँदै त्यहीँ आसिन भइन्। त्यसैले कतिपयले मैतीदेवीलाई मयूरतीर्थ पनि भन्ने गरेको पाइन्छ। मन्दिरको मूलद्वारको उत्तरतर्फ मयुरतीर्थ हुनुले यस कथनलाई पनि बल पुर्याउँछ।
किंवदन्ती र संकथन जे भए पनि मैतीदेवी मनकामना माताकी पनि माता भएको मानिन्छ। मन्दिरको दायाँ भागमा मनकामना माईको शिलामूर्ति छ। यही शिलाको आधा भाग तान्त्रिक विधिबाट मनकामना लगेको जनश्रुति छ ।
त्यसैले मनकामनाको दर्शन सकेर रुद्रमतीमा नुहाएर मयुरकुण्डको जल मैतीदेवीमा चढाएपछि मक्तजनको मनोकामना पुरा हुने जनविश्वास छ।
मैतीदेवी हिन्दूहरुको आस्थाकी देवी मात्र नभएर काठमाडौंका २८ टोलमा बसोबास गर्नेहरुले इष्टदेवीका रुपमा पुज्ने गर्छन।
इतिहास
ललितपुरको घाँयाबुमा प्राप्त नेपाल संवत १०७ को शिलालेखबाट
सबैभन्दा पहिले राजा गुणकामदेवको शासनकालमा कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृका जस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरूको छ।
इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौँ राज्यका राजा प्रताप मल्ल (नेपाल संवत ७६१ देखि ९४ र विक्रम संवत १६९८ देखि १७३१) ले गरेका हुन्।
अहिलेको मैतीदेवी माताको मन्दिर भने सन् १७११ मा चतुर्देशी सेवा खलकले बनाएको विश्वास छ।
काठमाडौं निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नील बाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएको विश्वास छ। तर, ती सबै जनश्रुति हुन कतै लिखत भने छैनन् ।
नेपाल भ्रमण वर्षका अवसरमा सन् १९९८ मा मैतीदेवी मन्दिर अंकित हुलाक टिकट प्रकाशन गरिएको थियो।
परम्परा
दशैँका बेला पहिले नक्साल भगवती, गुह्येश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालीकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरबारबाट पूजा मात्र पठाइन्थ्यो । तर, पछिल्लो समयमा महाअष्टमीका दिन राष्ट्राध्यक्षले मैतीदेवीको दर्शन गर्ने प्रचलनसमेत छ।
मैतीदेवी प्राङ्गणमा दाह संस्कार गर्ने घाटसमेत छ। जहाँ नेवार समुदायका सात जातिहरू मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साहीको दाहसंस्कार गर्ने परम्परा छ।
यहाँ ब्रम्हनालसँगै राजकुलो थियो। ज्ञानधाराबाट आएको त्यो कुलो घट्टेकुलोको धोवीखोलामा पुगेर मिसिन्थ्यो। तर संरचना निर्माण हुँदै जाँदा यी कुरा दबिएका इतिहास बनेका छन्।
वास्तुकला
हालको मन्दिर ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७ मिटर उचाईँको छ। भित्ताको मोटाई ०.४५ सेन्टिमिटर रहेको छ।
यसमा दच्ची आप्पा (इट्टा) प्रयोग भएको छ भने सिमेन्टका रूपमा सुर्की-चुना, इँट्टाको धुलो र थोरै प्रतिशत सिमेन्ट प्रयोग गरिएको छ। मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम छ।