Logo
२५ कात्तिक २०८२, मंगलबार

मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई आग्रह

अक्षरपाटी
२०८२ कात्तिक २५ , मंगलबार ०१:११ मा प्रकाशित

काठमाडौं । सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज र छरितो बनाउन आग्रह गरेको छ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समयावधी बढाउन समेत अपिल गरेको छ।

फागुन २१ गते तोकिएको निर्वाचनका लागि हाल मतदाता नामावली दर्ता प्रक्रिया जारी छ।

नामावली दर्ताका लागि कात्तिक ३० गतेसम्म समय तोकिएको छ। मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्या तथा सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो बढिरहेको बेला सरकारले दर्ता प्रक्रिाय सहज बनाउन र समय थप्न आग्रह गरेको हो।

खासगरी प्री–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नपाइनु, नागरिकता नम्बर प्रविष्ट गरिँदा समेत सिस्टमले नाम दर्ता अस्वीकार गर्ने समस्या देखिनु तथा जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्य र अशक्त व्यक्तिले नाम दर्तामा कठिनाइ भोग्नुपरेको गुनासो छ।

प्रधानमन्त्री कार्यालयले मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा कात्तिक ३० गतेसम्मको म्याद पुनरावलोकन गर्न समेत भनेको छ।

निर्वाचन आयोग मतदाता नामावली