Logo
१५ मंसीर २०८२, सोमबार

सुदूरपश्चिम प्रदेशद्वारा सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम सुरु

अक्षरपाटी
२०८२ मंसीर १५ , सोमबार ०२:१२ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका, मुक्त कम्लहरी, सीमान्तकृत समुदाय लक्षित गरेर आयमूलक कृषि कार्यक्रम सुरु गरेको छ ।

कैलालीमा यो कार्यक्रमका लागि किसानहरु छनोट गरी काम अघि बढाइएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले जानकारी दिए । प्रदेशका अन्य जिल्लामा पनि कार्यक्रम कार्यान्वयनको चरणमा छ ।

कार्यक्रमअन्तर्गत परिचयपत्र प्राप्त इच्छुक एकल महिला, अपाङ्गता भएका तथा विपन्न, मुक्त कम्लहरीलाई जनही रु १५ हजार बराबरको कृषि कार्य गरेबापत भुक्तानी कृषि ज्ञान केन्द्रमार्फत उपलब्ध गराइने जनाइएको छ ।

“कार्यक्रममा तरकारी र च्याउखेती, मौरीपालन, रैथाने थारू आलुखेती गर्ने किसानलाई समेटेका छौँ,” कार्यालय प्रमुख चौधरीले भने, “छनोटमा परेका किसानले रु १५ हजारभित्र रहेर कृषि कार्य गर्नुपर्ने छ, कामको अनुगमन निरीक्षणपछि रकम भुक्तानी गरिने छ ।”

यो कार्यक्रमका लागि जिल्लामा २०० किसान छनोट भएका छन् । चालु वर्षमा जिल्लाभरि यस्ता ४०० किसानलाई समेटेर आयमूलक कृषि गराउने सरकारको लक्ष्य छ । चालु वर्षमा यो कार्यक्रममा लागि कैलालीमा मात्रै रु ६० लाख बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीसहित सबै जिल्लामा कार्यान्वयन हुन लागेको यो कार्यक्रमबाट एकल महिला, मुक्त कम्लहरीलगायत सीमान्तकृत समुदायको आयआर्जन बढ्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘एक स्थानीय तह दुई उत्पादन’को नीति लिएको छ । यो नीतिबमोजिम प्रदेशका सबै ८८ स्थानीय तहमा स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

यो कार्यक्रमका लागि कृषितर्फ रु ४० लाख र पशुपालनतर्फ रु ४० लाख गरी प्रत्येक स्थानीय तहका लागि रु ८० लाख बजेट विनियोजन गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा एक उत्पादन होस् भन्ने उद्देश्यले सबै स्थानीय तहलाई समान बजेट विनियोजन गरिएको जनाइएको छ ।

कार्यक्रम कार्यान्वयनको सिलसिलामा कैलालीका सबै १३ पालिका तहमा छुट्टाछुट्टै बालीको खेती गर्न सम्झौता भएर काम सुरु भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले बताए । कृषक, कृषक समूह, सहकारीमार्फत यो कार्यक्रम कार्यान्वयनमा आएको हो ।