
काठमाडौं। फागुन २१ को चुनावका लागि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा १२० राजनीतिक दलले निर्वाचनमा भाग लिन आवेदन दिएका थिए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा र १२ राजनीतिक दललाई संयुक्त रुपमा चुनाव चिह्न प्रदान गरिएको छ।
आयोगले कुल १०७ वटा चुनाव चिह्न प्रदान गरेको जनाएको छ। आयोगमा कुल १४३ राजनीतिक दल दर्ता कायम भएका छन्।
तींमध्ये निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन्।
पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी आयोगले प्रदान गरेका चुनाव चिन्ह हुन्। त्यस्तै हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछन्।
त्यसैगरी कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्वाचन चिन्हका रुपमा प्रयोग हुनेछन्।
बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दानालगायत निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछ।
निर्वाचन आयोग


