Logo
२१ पुस २०८१, आईतबार

कैलालीका सुनचाँदी व्यवसायी संकटमा

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०६:०९ मा प्रकाशित

कैलाली। सुनचाँदीको कारोबार घटेपछि कैलालीका सुनचाँदी व्यवसायी संकटमा परेका छन्। कारोबारका लागि सुन पाउन समस्या भएपछि यतिखेर कैलालीका सुनचाँदी व्यवसायी पुराना गहनाले धानिएका छन्।

कैलालीका सुनचाँदी व्यवसायीले बिक्रीका लागि नयाँ सुन पाउन नसकेपछि पुराना गहना खरिदबिक्री र मर्मत गरेर व्यवसाय धानेका हुन्।

कोरोना महामारीपछि यहाँका व्यवसायीलाई सुन पाउन सहज छैन। “कोरोनाअघि सुदूरपश्चिममा महिनामा पाँच किलो सुन भाग प¥थ्यो। आजभोलि दुई महिनामा एक किलो पाउन पनि मुस्किल हुन्छ”, सुनचाँदी व्यवसायी संघ टीकापुरका अध्यक्ष देवबहादुर सुनारले भने, “अनि कहाँबाट कारोबार बढाउनु ? कारोबार बढे पो सुनचाँदी व्यवसायी फस्टाउँछन्। कारोबार नहुँदा कैलालीका सुन व्यवसायी संकटमा छौँ।”

उनका अनुसार यस वर्ष तीज पर्वमा पनि सुनचाँदी व्यवसायीको व्यापार भएन। विगतमा टीकापुरमा मात्रै तीजमा दैनिक ५० लाख बढीको कारोबार हुन्थ्यो।

उनले भने, “यस वर्ष एक तोला सुन बेच्न र किन्न पाउने व्यवसायी पनि खुसी हुनुपर्ने अवस्था छ। यसवर्ष किन्न चाहनेलाई पनि सुन दिन सकिएको छैन।”

सुनार कैलालीका व्यवसायी पुराना गहना खरिदबिक्री र मर्मत गरेर व्यवसाय धानिरहेको बताउछन्। कैलालीको टीकापुरमा रहेका ५० पसलमा चार सय कामदार छन्। कैलालीभरि एक हजारभन्दा बढी कामदारको रोजगारीसमेत संकटमा छ।

सुनचाँदी< कैलाली