Logo
१४ पुस २०८२, सोमबार

आन्दोलनमा बल प्रयोगको आदेश दिएको थिइनँ : रमेश लेखक

अक्षरपाटी
२०८२ पुस १४ , सोमबार ०३:१२ मा प्रकाशित

काठमाडौँ । भदौ २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्।

सोमबार आयोगमा उपस्थित भएका उनले उनले आफूले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको जिकिर गरेका हुन् ।

आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित बयानमा लेखकले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आफूले ’कुनै हताहती (क्याजल्टी) नहोस् र संयमता अपनाउनू’ भनी स्पष्ट निर्देशन दिएको दाबी गरेका छन्। उनले सुरक्षा निकायको अपरेसनल काममा मन्त्रीले हस्तक्षेप नगर्ने र कानुनले पनि त्यस्तो अधिकार नदिएको जिकिर गरेका छन्।

पूर्वगृहमन्त्री लेखकले जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको जिकिर गरेका छन्। उनले संसद् भवन, सर्वोच्च अदालत र आफ्नै निजी निवास लगायतमा भएको आगजनीलाई ’सुनियोजित षड्यन्त्र’ र ’लोकतन्त्रमाथिको आक्रमण’ को संज्ञा दिएका छन्।

त्यस्तै लेखकले महेन्द्रनगर र काठमाडौँका घरहरूमा आगजनी हुँदा आफूलाई ‘खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भनेजस्तै पीडा भएको उल्लेख गरेका छन्।

उनले बयानमा भनेका छन्, ’खासमा ती घर मैले आफैँ बनाएको पनि होइन। महेन्द्रनगरका दुवै घर पिताजीले बनाउनु भएको हो भने काठमाडौँको घर पनि पैतृक सम्पत्ति समेतको आर्जनबाट बनाइएको हो। पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ भने जस्तै भएको छ।’

लेखकले आगजनीको घटनाभन्दा पनि आफ्नी आमा गुमाउनु परेको पीडा गहिरो भएको बताएका छन्। भदौ २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन सिकिस्त बिरामी आमालाई अक्सिजन विना नै सार्नुपरेको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ’मेरी वृद्ध र अक्सिजन लिइरहनुपर्ने सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजन बिना नै राखी अस्पताल पुर्‍याउनु परेको कारणले केही दिनपछि दिवङ्गत हुनु भयो।’

नेपाली कांग्रेस रमेश लेखक