



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट आएको प्रारम्भिक सूचनाअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिए। उनका अनुसार निर्वाचन प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
आयोगका अनुसार विभिन्न जिल्लाबाट मतपेटिका संकलन गर्ने काम जारी छ। सबै मतपेटिका सुरक्षित रूपमा संकलन भई सम्बन्धित स्थानमा पुर्याएपछि निर्धारित प्रक्रियाअनुसार मतगणना सुरु गरिनेछ।
यसपटक निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। आयोगले निर्वाचन सफल बनाउन सहयोग गर्ने सुरक्षा निकाय, कर्मचारी तथा मतदातालाई धन्यवाद पनि दिएको छ।





