Logo
१८ वैशाख २०८३, शुक्रबार

जाँचबुझ आयोगलाई बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गरेको हो

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०४:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले गत भाद्र २३ र २४ गते भएको घटनाको सबै जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने अडान राखेका छन् । 

उक्त घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले यस्तो अडान प्रस्तुत गरेका हुन् ।

जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको आयोगको प्रतिवेदनमा बालेनको १७८ शब्दको बयान समावेश छ । उनले २३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा भने नरहेको दाबी गरेका छन् । भाद्र २३ र २४ गते दुवै दिन आफू सरकारी निवास लैनचौरमै रहेको उनको भनाइ छ ।

व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको बालेनले आयोगलाई बताएका छन् । आफ्नो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गरेको दाबी पनि उनको छ ।

‘मैले जनधनको रक्षाको लागी सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको थिएँ । घटनापश्चात् महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो,’ उनले भनेका छन्, ‘२४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ ।’

२४ गते का.म.न.पा ले समयमै दमकल पठाएको र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको उनले बताएका छन् । राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्ने भूमिका खेलेको पनि उनको भनाइ छ ।

बालेनले भनेका छन्, ‘तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ ।’

काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप प्रतिकात्मकरुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाइदिन्छु’ शब्द प्रयोग नभएको उनले बताएका छन् ।

बालेन शाह