



धनगढी – नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा कैलालीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
कार्यक्रमबारे जानकारी दिँदै महासंघ कैलालीका सचिव तेज भट्टले स्थापना दिवसको अवसर पारेर पत्रकारबीच आपसी समन्वय र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने मूल नारालाई आत्मसात गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको थियो। अध्यक्ष देउवाले पत्रकारितालाई अझ विश्वसनीय र मर्यादित बनाउन सबै पत्रकारले आ–आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताहरूले पनि पत्रकारितामा मर्यादा कायम राख्दै सत्य र निष्पक्ष सूचनाको प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न राज्य तथा सरोकारवालाको ध्यान जानुपर्ने धारणा व्यक्त गरेका थिए।
स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले कैलालीका पत्रकारहरूबीच एकता र पेशागत जिम्मेवारीप्रति थप सचेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।
नेपाल पत्रकार महासंघ



