



धनगढी । कञ्चनपुरमा सेवाग्राहीलाई दुःख दिएको भन्दै ७ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय तथा मालपोत कार्यालयको गेटअगाडि सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार बिहीबार जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सेवाग्राहीलाई ताना–तान गरी हैरानी दिएको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। सो क्रममा ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा पर्नेमा बेदकोट नगरपालिका–५ धरमपुरका सालम बोगटी, दिल बिक, सागर घरेडी तथा दीपेन्द्रकुमार बोहरा रहेका छन्। उनीहरूमध्ये तीन जना देव अनलाइन सेन्टर र एक जना हाम्रो अनलाइन पसल मा काम गर्ने व्यक्ति रहेको बताइएको छ।
त्यसैगरी, दिउँसो यातायात व्यवस्था कार्यालय कञ्चनपुरको गेटअगाडि २ जना र मालपोत कार्यालयको गेटअगाडि एक जनाले सेवाग्राहीलाई हैरानी गरिरहेको सूचना पाएपछि प्रहरी टोली पुनः परिचालन गरिएको थियो। सो क्रममा थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।
प्रहरी नियन्त्रणमा पर्नेमा बेदकोट–६ का कपिल जोशी, भीमदत्त–१८ का हिमान्शु चन्द र भीमदत्त–५ का कैलाश सुनार रहेका छन्। कपिल र हिमान्शु शालिग्राम अनलाइन सेवा मा कार्यरत रहेको प्रहरीले जनाएको छ भने कैलाश सुनार मालपोत कार्यालयअगाडिबाट नियन्त्रणमा परेका हुन्।
प्रहरीले सरकारी कार्यालय वरपर सेवाग्राहीलाई अनावश्यक दबाब, ताना–तान वा हैरानी दिने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको जनाएको छ। बिहीबार कैलाली प्रहरीले पनि सेवाग्राहीलाई दुःख दिएको भन्दै यातायात र मालपोत कार्यालय धनगढीबाट १२ जनालाई पक्राउ गरेको थियो ।
बिचाैलिया पक्राउ



