Logo
२६ वैशाख २०८३, शनिबार

इरान र अमेरिकाबीच आज पाकिस्तानमा निर्णायक वार्ता

अक्षरपाटी
२०८२ चैत्र २८ , शनिबार ०६:०४ मा प्रकाशित

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव कम गर्न इरान र अमेरिकाबीच आज पाकिस्तानको राजधानी इस्लामावादमा निर्णायक वार्ता हुँदैछ। 

ऐतिहासिक वार्ताका लागि दुवै देशका उच्च-स्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तान आइपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराक्ची नेतृत्वको टोली इस्लामावाद आइपुगेको हो । अवतरणपछि गालिबाफले अमेरिकाप्रति सद्भाव भए पनि विश्वास भने नभएको टिप्पणी गरे।

अर्कोतर्फ, अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उनीसँगै विशेष दूत स्टिभ विट्कफ र डोनाल्ड ट्रम्पका सल्लाहकार जारेड कुश्नर पनि सहभागी छन्। प्रस्थानअघि भान्सले भने, यदि इरानीहरू इमानदारीका साथ वार्ता गर्न तयार छन् भने, हामी हात बढाउन तयार छौँ। तर यदि उनीहरूले हामीलाई झुक्याउन खोजे भने हामी चुप बस्ने छैनौँ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि निस्किएका उपराष्ट्रपति भान्सलाई शुभकामना दिँदै इरानसँगको सम्झौताका लागि आफ्नो मुख्य सर्त परमाणु हतियार विहीनता रहेको स्पष्ट पारेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो वार्तालाई युद्ध अन्त्यका लागि निर्णायक क्षणको संज्ञा दिएका छन्। उनले यो शिखर वार्ता पाकिस्तान र सम्पूर्ण मुस्लिम विश्वका लागि गौरवको विषय भएको बताए। पाकिस्तानले पछिल्लो केही सातादेखि दुई देशबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।