Logo
२४ वैशाख २०८३, बिहीबार

थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु

अक्षरपाटी
२०८३ वैशाख २४ , बिहीबार ११:०५ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम तथा तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा परम्परादेखि खेलिँदै आएको मौलिक खेल ‘भोदी’ सुरु भएको छ।

आधुनिक खेल र प्रविधिको प्रभाव बढ्दै जाँदा गाउँघरमा खेलिने भोदी खेल ओझेल पर्दै जान थालेपछि थारु समुदायका युवा तथा अगुवाहरु यसको संरक्षणमा जुटेका हुन्। उनीहरुले परम्परागत खेल भोदीको आयोजना गर्दै आएका छन्।

कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको युवा जनहित क्लबले परम्परागत खेल भोदीको आयोजना गर्दै आएको छ।

थारु समुदायको बर्का भजहर पर्वको अवसरमा आयोजना गरिएको भोदी खेलको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोकवहादुर खड्का रविले उद्घाटन गरेका हुन्।

भोदी खेल विशेषगरी थारु समुदायले अनत पर्व तथा विभिन्न सांस्कृतिक अवसरमा खेल्ने गर्दछन् । यो खेल समूहमा खेलिने परम्परागत खेल हो।

खेलमा दुई समूह बनाइन्छ र प्रत्येक समूहमा करिब १० जना खेलाडी सहभागी हुन्छन्। खेल मैदानको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लट्ठीहरू राखिन्छन्, जसलाई थारु भाषामा ‘टाँचा’ भनिन्छ।

खेलाडीहरूले पालैपालो झटारो हानेर खाडलभित्र रहेका ती लट्ठी बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र सबैभन्दा धेरै लट्ठी निकाल्न सफल हुने समूह विजेता घोषित हुने प्रचलन रहेको छ।

यो खेलमा शारीरिक स्फुर्तिका साथै समूह समन्वय, रणनीति र एकताको महत्वपूर्ण भूमिका रहने गर्दछ।

भोदी खेल