Logo
११ जेठ २०८३, सोमबार

पुतली र डेजी

अक्षरपाटी
२०८३ जेठ ११ , सोमबार ०५:०५ मा प्रकाशित

o प्रदिया राज्यलक्ष्मी शाह

एक उज्यालो बिहान,
एउटा रङ्गीन पुतली
आफ्नो कोकून च्यात्दै
क्षणिक जीवन लिएर जन्मियो।

हरिया मैदान उसका साक्षी बने,
जहाँ उसले स्वतन्त्रताको
पहिलो स्पर्श अनुभूत गर्यो।

केही समयपछि
केही दिनको जीवनयात्रा पूरा गर्नका लागि
उसको गन्तव्य पहाड थियो,
जहाँ शान्ति थियो,
जहाँ मिठो अन्त्य स्वीकृत थियो।

अति सुन्दर थियो पुतली…
उसका पखेटामा
अद्भूत रङहरू थिए, प्रकृतिले पोतेका
अनौठा ढाँचाहरू थिए।

जहाँ गए पनि
ऊ प्रकृतिमै विलीन हुन्थ्यो,
मानौँ ऊ आफैँ
प्रकृतिको एक सास थियो,
वा प्रकृतिले उसलाई
आफ्नै अंशझैँ अङ्गाल्थी।

एक दिन
मैदानबाट पहाडतर्फ उड्दै गर्दा
एउटी सुन्दर डेजी
मौन भएर
एकटक
उसलाई हेरिरहेकी थिइ…

त्यो हेराइ, त्यो दृष्टि
साधारण थिएन,
हुनसक्छ ऊ पुतलीको उडानमा
वा पुतलीमा नै मोहित बनि।

कुनै सुन्दर वस्तुले मनलाई आकर्षित गरेजस्तै
डेजीको त्यस हेराइले
पुतलीलाई आकर्षित गर्‍यो,
जसकारण पुतलीलाई रोकिन
बाध्य बनायो…
र पुतली रोकियो।

त्यस दिनपछि
पुतली पहाडतर्फ उडेन।
ऊ डेजीको वरिपरि घुम्न थाल्यो,
डेजीको सुन्दरतामा आफ्नो गन्तव्य बिर्सियो।
त्यही सुन्दरतामा आफैँलाई हराउँदै गयो।

मानौँ डेजीको मौनतामा उसले प्रेम भेट्यो
अनि डेजीले पुतलीको उडानमा जीवन महसुस गरि।

पुतलीले आफ्नो क्षणिक जीवन बिर्सियो।
मानौँ त्यो क्षण, त्यो समय
त्यहीँ रोकिएको थियो।

उनीहरू
एकअर्कामा हराए,
दुई मौन आत्मा
एकै भावनामा बाँधिए।

तर समय
कसैको प्रतीक्षा गर्दैन
अथवा प्रेमको पक्षमा हुँदैन।

केही दिनपछि
बिछोड अनिवार्य थियो…
तर
जति नै समय सँगै बिताए पनि
उनीहरूले आफ्ना भित्रका
भावना कहिल्यै व्यक्त गर्न सकेनन्,
बरु अन्तिम क्षणको प्रतीक्षामा
मौन बसे!

अन्ततः
पुतलीको अन्तिम दिन आयो।

जब उसलाई
आफ्नो अन्तिम दिन महसुस भयो
तब पुतली मौन रहन सकेन।
उसको हृदय भारी भयो…
र जसरी पनि
आफ्ना भावना व्यक्त गरेर
बिदाइ लिने निर्णय गर्‍यो।

प्रेमका शब्दहरू
पुतलीबाट
एक–एक गरी झर्न थाले।

डेजी अचम्ममा परि,
बिदाइको अर्थ बुझ्न सकिन,
किनकि उसलाई थाहा थिएन
पुतलीको जीवन
केवल केही दिनको मात्र थियो।

डेजी त सोचिरहेकी थिइ,
यसरी नै सँगै रहनेछौँ
सधैँ सधैँ
यो समयभन्दा पर…

पुतलीले सुस्तरी भन्यो-
‘आज अन्तिम दिन हो !’

अन्तिम क्षणमा
आफ्नो सम्पूर्ण साहस बटुलेर
पुतलीले चिच्याएर भन्यो…
‘म तिमीलाई माया गर्छु, मेरी प्रिय डेजी।’

मासूम सुन्दर डेजी
आफ्नो भावना लुकाउन सकिन,
आँसु र मुस्कान सँगै बोकेर
बिस्तारै भनि
‘म पनि।’

मानौँ डेजी
यस प्रेमकथाको
दुःखद अन्त्य स्वीकार्न
पहिल्यै तयार थिइ…

डेजीका पत्रहरू
एक–एक गरी झर्न थाले
प्रेमको मौन बलिदानझैँ…

सुन्दर साहसी डेजीले
दुवैको भाग्यलाई स्वीकार गरि,
र बिछोडलाई अङ्कमाल गरि।

जसरी डेजीका पत्रहरू जमीनमा खस्दै गए
ती खस्दै गएका हरेक पत्रले
एउटै कुरा भनिरहे…
ऊ मलाई माया गर्छ…
ऊ मलाई माया गर्छ…🌼

कविता प्रदिया राज्यलक्ष्मी शाह
यो पनि हेर्नुहोस् : झरीसँग गुनासो