Logo
२ असार २०८३, मंगलबार

टेम्पो भिरबाट खसालेको आरोपमा वन अधिकृत र जमदारविरुद्ध मुद्दा, १० जनालाई रिहा

अक्षरपाटी
२०८३ असार २ , मंगलबार १०:०६ मा प्रकाशित

कैलाली । कैलालीको गोदावरीमा एक महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जना वन कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनापछि नियन्त्रणमा लिइएका १२ जना वन कर्मचारीमध्ये दुई जनाविरुद्ध मात्र मुद्दा चलाइएको हो। बाँकी १० जनालाई रिहा गरिएको उनले बताए।

पीडित पक्षको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ।

घटनाबारे थप छलफलका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पीडित पक्ष, स्थानीय जनप्रतिनिधि तथा वन कार्यालयका पदाधिकारीसँग मंगलबार पनि छलफल हुने जानकारी दिएका छन्। यसअघि आइतबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच दिनभर छलफल भएको थियो।

घटनाको सत्यतथ्य छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति पनि गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गर्दै सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

समितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।

गत शुक्रबार गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए।

धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडामा टेम्पो रोकेर पानी, चाउचाउ, बिस्कुट, अण्डालगायत सामग्री बिक्री गर्दै आएकी थिइन्। वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वन कर्मचारीले टेम्पो हटाउने क्रममा भिरबाट खसालेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचना भएको थियो। टेम्पो खसाल्नुअघि त्यसमा रहेका सामान भने निकालिएको बताइएको छ।

यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको बचाउ गरेका छन्। उनीहरूले टेम्पो जानाजान भिरबाट नखसालिएको, अतिक्रमण हटाउने क्रममा भिरालो भू–सतह र असन्तुलनका कारण सञ्चालनमा नरहेको तथा गुड्न नसक्ने अवस्थाको टेम्पो भिरबाट खस्न पुगेको दाबी गरेका छन्।

मुद्दा दर्ता वन अधिकृत वन कर्मचारी

ट्रेन्डिङ ( साप्ताहिक )