Logo
१५ साउन २०८३, शुक्रबार

प्रधानमन्त्रीसंगको भेटमा मधेशवादी नेताहरुले भने : २–४ दिनअघि सम्बोधन गरेको भए यो अवस्था आउने थिएन

अक्षरपाटी
२०८३ साउन १५ , शुक्रबार ०१:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक र जिम्मेवारीपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्रीले आफूहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक सुनेर आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले सुनसरी घटनाप्रति सरकारले समयमै प्रतिक्रिया नदिँदा अवस्था थप जटिल बनेको बताए। उनका अनुसार प्रारम्भिक चरणमै प्रभावकारी कदम चालिएको भए हालको परिस्थिति सिर्जना हुने थिएन।

महतोले आफूहरूले यसअघि आठ बुँदे निर्णय तयार गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुझाइसकेको र सोही विषय प्रधानमन्त्रीलाई पनि जानकारी गराएको बताए।

‘घटना मधेशमा आगोझैँ फैलिरहेको छ। राज्यले समयमै प्रतिक्रिया नदिँदा स्थिति नियन्त्रणबाहिर जान सक्छ,’ उनले भने, ‘साम्प्रदायिक तनावलाई तत्काल रोक्न आवश्यक छ।’

उनले सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल र सरोकारवाला पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिँदै आफ्नो पार्टी पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताए।

महतोले प्रधानमन्त्रीले केही दिनअघि नै राष्ट्रका नाममा सम्बोधन गरेको भए तनाव बढ्न नपाउने दाबी गरे। ‘गृहमन्त्रीसँग भएको सम्झौता पनि पहिले नै भएको भए अहिलेको अवस्था आउने थिएन,’ उनले भने, ‘भएको सम्झौतालाई रद्दीको टोकरीमा नफालियोस्।’

भेटका क्रममा प्रधानमन्त्रीले सुनसरी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने प्रतिबद्धता जनाएको महतोले बताए।

उनले समाजमा साम्प्रदायिक दङ्गा भड्काएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने तत्त्वहरू सक्रिय रहेको भन्दै सरकारले त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्ने धारणा पनि राखे।

महतोका अनुसार प्रधानमन्त्रीसँगको छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। प्रधानमन्त्रीले सामाजिक सद्भाव, शान्ति र कानुनी शासन कायम राख्न आवश्यक पहल गर्ने विश्वास दिलाएको उनले बताए।

बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )