Logo
२० साउन २०८३, बुधबार

गम्भीर अवस्थाका बिरामीलाई नयाँ जीवन दिएको भन्दै निसर्ग हस्पिटलका चिकित्सक र अध्यक्ष सम्मानित

अक्षरपाटी
२०८३ साउन २० , बुधबार ०१:०८ मा प्रकाशित

धनगढी । कैलालीको अत्तरियास्थित न्यु सिर्जनशील युवा क्लबले आफ्ना अध्यक्ष नरबहादुर राईको सफल उपचार गरी जीवन रक्षा गरेको भन्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा क्लबले अध्यक्ष राईको उपचारमा संलग्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै सम्मानपत्र प्रदान गरेको हो।

सम्मानित हुनेमा वरिष्ठ चिकित्सक डा. चिरञ्जीवी पन्त, डा. मेराज आलम अन्सारी, डा. हेमन्त ओझा तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज पन्त रहेका छन्।

क्लबका अध्यक्ष नरबहादुर राई १९ दिनअघि श्वासप्रश्वासमा जटिल समस्या र खुट्टामा गम्भीर घाउका कारण अत्यन्त गम्भीर अवस्थामा निसर्ग हस्पिटलमा भर्ना भएका थिए। उपचारका क्रममा उनलाई केही समय भेन्टिलेटरमा समेत राख्नुपरेको अस्पतालले जनाएको छ।

विशेषज्ञ चिकित्सकको टोलीले निरन्तर उपचार, सघन निगरानी र आधुनिक चिकित्सकीय व्यवस्थापन गरेपछि उनको स्वास्थ्यमा सुधार आएको थियो। उपचार सफल भएपछि मंगलबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै राईले आफू जीवन र मृत्युको दोसाँधमा रहेका बेला निसर्ग हस्पिटलले दिएको उपचार, आत्मीय व्यवहार र मानवीय सहयोग जीवनभर स्मरणीय रहने बताए।

‘मेरो अवस्था निकै जटिल थियो। चिकित्सक टोलीले दिनरात खटिएर उपचार गर्नुभयो। अस्पतालले देखाएको मानवीय व्यवहार र सहयोगले मलाई नयाँ जीवन दिएको अनुभूति भएको छ। निसर्ग हस्पिटल मेरो लागि दुई पटक पुनर्जन्म दिने अस्पताल बनेको छ,’ उनले भने।

धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। सुदूरपश्चिम प्रदेशको सुविधा सम्पन्न निजी अस्पतालमध्ये एक हो। अस्पतालले २४सै घण्टा आकस्मिक उपचार, भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा र जटिल प्रकृतिका बिरामीको उपचार गर्दै आएको जनाएको छ। आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र बिरामीकेन्द्रित सेवाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।

कार्यक्रममा सहभागीहरूले गुणस्तरीय उपचारसँगै मानवीय सेवालाई प्राथमिकता दिँदै आएको निसर्ग हस्पिटलको कार्यशैली अनुकरणीय रहेको बताएका थिए। उनीहरूले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई मानवीय संवेदनासँग जोडिएको विषय भएको उल्लेख गर्दै अस्पतालले पछिल्लो समय देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए।

तिर्थराज पन्त निसर्ग हस्पिटल

ट्रेन्डिङ ( साप्ताहिक )