Logo
२६ साउन २०८३, मंगलबार

सामाजिक सञ्जालमा गाली–बेइज्जती गरे कानुनी कारबाही हुने सरकारको चेतावनी

अक्षरपाटी
२०८३ साउन २६ , मंगलबार ०३:०८ मा प्रकाशित

काठमाडौं । सरकारले सामाजिक सञ्जालसहित कुनै पनि माध्यमबाट अरूको प्रतिष्ठामा आँच पुग्ने गरी गाली, अपमान वा आधारहीन आरोप लगाउने कार्य गरे कानुनी कारबाही हुने स्पष्ट पारेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत गाली र बेइज्जतीसम्बन्धी कानुनी व्यवस्थाबारे सर्वसाधारणलाई सचेत गराएको हो ।

मन्त्रालयका अनुसार कसैलाई होच्याउने नियतले बोली वा वचनबाट अपमानजनक शब्द प्रयोग गर्नुलाई ‘गाली’ मानिन्छ । त्यस्तै, कसैको इज्जत, चरित्र, आचरण वा ख्यातिमा आँच पुग्ने गरी आरोप लगाउने वा त्यस्ता विषयको प्रचार–प्रसार गर्नुलाई ‘बेइज्जती’ मानिने कानुनी व्यवस्था छ ।

यो व्यवस्था जीवित व्यक्तिमा मात्र सीमित नरहेको मन्त्रालयले जनाएको छ । मृतकका सम्बन्धमा समेत परिवार वा नातेदारको भावनामा चोट पुग्ने गरी आरोप लगाउने कार्यलाई बेइज्जतीको रूपमा लिइने मन्त्रालयको भनाइ छ ।

सामाजिक सञ्जाल प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

पछिल्लो समय सामाजिक सञ्जालमा आधारहीन आरोप, अपमानजनक अभिव्यक्ति तथा व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने सामग्री फैलाउने क्रम बढिरहेको भन्दै मन्त्रालयले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य कुनै पनि माध्यमबाट कसैलाई अपमान गर्ने, आधारहीन आरोप लगाउने वा प्रतिष्ठामा हानि पुग्ने सामग्री प्रसार गर्ने कार्य कानुनी कसूर हुन सक्ने जनाएको छ ।

के छ कानुनी व्यवस्था ?

मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ देखि ३०८ सम्म गाली र बेइज्जतीसम्बन्धी व्यवस्था रहेको जनाएको छ । कसूरको प्रकृति हेरी कानुनमा सजाय तथा जरिवानाको व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरूको सम्मान, प्रतिष्ठा र मर्यादामा आँच नपुग्ने गरी जिम्मेवार र मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गरेको छ ।

सरकारले सामाजिक सञ्जालमा व्यक्त गरिने विचार तथा टिप्पणी पनि कानुनभन्दा बाहिर नहुने भएकाले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा त्यसको सीमाबारे सचेत हुनुपर्नेमा जोड दिएको छ ।

कानुनी कारबाही सामाजिक सञ्जाल