Logo
९ भदौ २०८३, मंगलबार

सभामुखको आग्रहपछि प्रधानमन्त्रीले खुलाए कालो चस्मा लगाउनुको कारण

अक्षरपाटी
२०८३ भदौ ९ , मंगलबार १२:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन्।

प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। उनी उक्त बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्।

सभामुख डोलप्रसाद अर्यालले यसअघि प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई कालो चस्मा लगाएर संसद् बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। स्वास्थ्यसम्बन्धी कारणले कालो चस्मा लगाउनुपर्ने भए स्वास्थ्य परीक्षणको रिपोर्टसहित कारण खुलाउन आग्रह गरिएको थियो।

त्यसपछि प्रधानमन्त्री शाहले आफूलाई कालो चस्मा लगाउनुपर्ने स्वास्थ्यसम्बन्धी कारण रहेको भन्दै संसद् सचिवालयलाई पत्रमार्फत जानकारी गराएका हुन्। उनले स्वास्थ्य परीक्षणको रिपोर्टसमेत सचिवालयमा पठाएका छन्।

प्रधानमन्त्री शाहले उज्यालोमा हेर्न असहज हुने समस्या देखिएपछि नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा गत साउन २२ गते आँखाको परीक्षण गराएका थिए। उनको आँखा परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।

स्वास्थ्य परीक्षण रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने तथा आँखा सुक्खा हुने समस्या देखिएको उल्लेख छ। आँखाको सुक्खापनका लागि उनलाई समय–समयमा आइड्रप प्रयोग गर्नुपर्ने सुझावसमेत दिइएको छ।

सोही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने भएको जानकारी प्रधानमन्त्रीले गत साउन २६ गते नै संसद् सचिवालयलाई पत्रमार्फत गराएका थिए।

यससँगै प्रधानमन्त्री शाहले संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारणबारे संसद् सचिवालयलाई औपचारिक जानकारी गराएका छन्।

बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )