Logo
२० भदौ २०८३, शनिबार

भोटेकोशी महाविपद्को ११ औँ दिनमा दुई चमत्कार : घरबाट वृद्धा, सुरुङबाट चिनियाँ नागरिकको जीवित उद्धार

अक्षरपाटी
२०८३ भदौ २० , शनिबार ०४:०९ मा प्रकाशित

काठमाडाैं। भोटेकोशी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको सफलतापूर्वक जीवित उद्धार गरिएको छ।

चिलिमे जलविद्युत् आयोजनामा भने सुरुङभित्र फसेकाहरूको खोजी कार्यलाई तीव्र पारिएको छ। २५० मिटर लामो यो सुरुङको १०० मिटर सुरुङ सफा गरिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको ११औँ दिनमा बिदुर नगरपालिका–१० निवासी श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले अचेत अवस्थामा फेला पारी उद्धार गरेको हो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर अहिले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ।

यसैबीच, बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको आयोजनाअन्तर्गत अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञ टोलीले केहीबेरअघि सुरुङभित्रबाट उनलाई उद्धार गरेका हुन्।

यता, चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य भने निरन्तर जारी छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ।

तर म्यानुअल रूपमा मात्रै उद्धार सम्भव नहुने देखिएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने प्रयास भइरहेको छ। त्यसका लागि स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि पहुँच सडक निर्माणको काम अघि बढाइएको छ।

सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ। त्यसका लागि सुरुङभित्र रहेको माटो तथा भग्नावशेष हटाउने काम जारी छ।

ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले आवश्यक सामग्री तथा उपकरण साना हेलिकोप्टरमार्फत घटनास्थलसम्म पुर्‍याउने प्रयास भइरहेको छ।

उद्धारमा अनेक चुनौती देखिए पनि टोलीले खोजी तथा उद्धार कार्यलाई रोकेको छैन। पहुँच विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको छ।

बाढीको ११औँ दिनमा समेत जीवित व्यक्ति भेटिनुले उद्धार टोलीमा आशा थपिएको छ भने सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी पनि सम्भव भएसम्म तीव्र पारिएको छ।

भोटेकोशी महाविपद्