



काठमाडौं । क्यान्सर उपचारमा नवीनतम ज्ञान, सीप, अनुसन्धान र बहुआयामिक अभ्यासलाई एकै ठाउँमा जोड्ने उद्देश्यले ‘नेपाल क्यान्सर सम्मेलन–२०२६’ आयोजना हुने भएको छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा अक्टोबर २ र ३ (असोज १६ र १७) गते काठमाडौंस्थित होटल र्याडिसनमा सम्मेलन हुन लागेको अस्पतालको व्यापार प्रवर्द्धन तथा मार्केटिङ विभागले जनाएको छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा सम्मेलनका अध्यक्ष डा. सुदीप श्रेष्ठले चिकित्सा तथा वैज्ञानिक समुदायलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेका छन्। सम्मेलनमा क्यान्सर उपचारका क्षेत्रमा व्यावहारिक, दिगो र बहुविषयगत समाधानबारे छलफल हुने डा. श्रेष्ठले जानकारी दिए।
विशेषगरी थोरासिक म्यालिग्नेन्सिज (छाती तथा फोक्सोसँग सम्बन्धित क्यान्सर) लाई सम्मेलनको प्रमुख विषयका रूपमा प्राथमिकता दिइनेछ।
सम्मेलनमा विशेषज्ञद्वारा सञ्चालन हुने प्राविधिक सत्र, विभिन्न विधाका विज्ञबीच विभिन्न विषयगत छलफल तथा अनुसन्धानबारे प्रस्तुति हुनेछन्। यसले चिकित्सक, अनुसन्धानकर्ता तथा स्वास्थ्य क्षेत्रका अन्य विज्ञलाई आफ्नो अनुसन्धान, अनुभव र उपचारसम्बन्धी नवीन अभ्यास प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
स्रोत–साधनको सिमितताबीच क्यान्सर उपचारलाई कसरी प्रभावकारी, व्यावहारिक र दिगो बनाउने भन्ने विषयमा समेत सम्मेलनमा विशेष विमर्श हुने बताइएको छ।
अनुसन्धानकर्तालाई आह्वान
सम्मेलनले क्यान्सरसम्बन्धी अनुसन्धान गरिरहेका चिकित्सक तथा अनुसन्धानकर्तालाई आफ्ना अनुसन्धानका निष्कर्ष पेश गर्न समेत आह्वान गरिएको छ। सम्मेलनमार्फत क्यान्सर उपचार, अनुसन्धान र हेरचाहका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबीच ज्ञान र अनुभव आदानप्रदानसँगै सहकार्यको वातावरण निर्माण हुने विश्वास आयोजकको छ।
आयोजकका अनुसार सम्मेलनले क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान, उपचार र आधुनिक क्यान्सर हेरचाह सम्बन्धी जनचेतना अभिवृद्धिमा समेत योगदान पुर्याउनेछ।
‘सीमा तोडौँ, आशा जगाऔँ र सँगै क्यान्सरविरुद्ध लडौँ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले नेपालमा क्यान्सर उपचार र अनुसन्धानको आगामी दिशाबारे बहसका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने आयोजकको विश्वास छ।
डा. सुदीप श्रेष्ठ नेपाल क्यान्सर अस्पताल

