


म्याग्दी । मनसुनजन्य विपद्का कारण चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानले सडकको म्याग्दी खण्डमा ठूलो क्षति पुर्याएको हो। सडक योजनाका अनुसार म्याग्दीको ३३ किलोमिटर क्षेत्रमा मात्रै १० स्थानमा सडक बग्नुका साथै करिब ५० स्थानमा पहिरो गएको छ।
क्षतिग्रस्त सडकलाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याइए पनि पूर्ण पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने आयोजना प्रमुख तेजस्वी शर्माले बताए।
पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर सडकमध्ये म्याग्दी खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो। हाल पहिरो तथा कटान भएका स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
क्षतिग्रस्त सडकको निरीक्षण गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने भन्दै काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
कोरला नाका, पर्यटक तथा स्थानीय यातायातका लागि महत्वपूर्ण मानिने उक्त सडकमा क्षतिका कारण यात्रा गर्न लाग्ने समय समेत लम्बिएको छ।
बेनी–जोमसोम–कोरला सडक

