Logo
२९ असार २०८२, आईतबार

ढाका बुनाइले महिलालाई बनायो आत्मनिर्भर

अक्षरपाटी
२०७९ मंसीर २८ , बुधबार १२:१२ मा प्रकाशित

पाल्पा २८ मंसिर। शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ।

फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउछन्। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन्।

“बिहान साँझ घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ”, उनले भनिन्, “मैले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने गरेको छु।”

उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढाका बुन्नमा व्यस्त हुन्छिन्। ढाका बुनेर एक महिनामा २० हजारसम्मको कमाइ हुने गरेको उनले सुनाइन्।

जीवन जीउन पहिलेदेखि धेरै संघर्ष गरेकी उनी आफू मात्रै स्वरोजगार नभई गरिव, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिने गर्छिन।

घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यावसाय महिलालाई धेरै सहज भएको उनले बनाइन्।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पा तथा स्थानीय ढाका उद्योगमा सीप सिकेकी उनी दुई वर्ष अघिदेखि पाल्पाको तानसेनस्थित स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा ढाका बुन्ने गर्छिन।

सानो सीप भए पनि तल्लिन भएर निरन्तर काम गरियो भने ढाका बुनेर राम्रै कमाइ गर्न सकिने उनको अनुभव छ। तानसेन नगरपालिका १२ बौघापोखराथोककी धनी थापाले पनि अहिले एक वर्ष अघिदेखि ढाका बुनेर आफ्नो खर्च जुटाउन थालेकी छन्।

दिनभर घरमै फुर्सदमा बिताउने थापालाई ढाका बुनाईले व्यस्त बनाएको छ। तानसेन बजारमा कोठा भाडामा लिएर ढाका उद्योगमा काम गर्ने अवसर पाउँदा उनमा आत्मबल बढ्दै गएको छ।

माथागढी गाउँपालिका–३ सराईका खिमकुमारी गाहाले ढाका बुनाइलाई नै प्राथमिकता दिएर आठ वर्षदेखि निरन्तर काम गर्दै आएकी छन्। तानसेन बजारमा भाडामा बसेर दिउँसोको समय ढाका बुन्ने त्यसैबाट आर्जन गरेको रकमले परिवार चलाउने गर्छिन्।

आफूले यस क्षेत्रमा काम गर्न थालेपछि आर्थिक क्षेत्रमा परनिर्भर रहनु नपरेको गाहा बताउछिन्।

उनी भन्छिन, “हातमा सीप भयो भने जहाँ बसेर पनि जीवन धान्न सकिन्छ, ढाकाको सीपले मलाई आत्मनिर्भर बनाएको छ, दुई चार पैसाका लागि अरुसंग हात थाप्नुपरेको छैन, आफैँले कमाउन सुरु गरेपछि कसैको तनाव भएन ।”

तानसेन–६ बर्तुङ बस्ने सानु केसीको ढाका सारीमा नयाँ नयाँ बुट्टा, डिजाइन राखेर तयार पार्ने राम्रो कला छ। ढाकाका सबैजसो कपडा बुन्ने गरे पनि सारी बुन्न उनी बढी मन पराउँछिन्।

ढाका बुनाइसम्बन्धी तीन महिनाको सीप विकास तालिम लिनुभएकी उनी तानमा बसेर ढाका बुन्न थालेपछि सीप वृद्धिसँगै आयआर्जनको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउँछिन्।

“पछिल्लो समय ढाकाका सारी प्रयोग गर्ने बढ्दै गएका छन्, ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइन भरेर सारी तयार पार्ने गरेको छु, तानमा बसेर ढाका बुन्दा आनन्द लाग्दछ”, उनले भनिन्।

रिब्दिकोट गाउँपालिका–६ ठिमुरेकी विष्णु पुलामी छोराछोरी पढाउन सदरमुकाम तानसेनमा भाडामा बस्छन्। दुई जना छोराछोरीको भविष्य उज्वल बनाउन उचित शिक्षाको खोजीमा पाल्पा सदरमुकाम तानसेनमा भाडामा बसेकी उनलाई ढाका कपडा बुनाइले भुलाएको छ।

बिहान साँझ छोराछोरीको स्याहारसुसारमा व्यस्त रहने उनी छोराछोरीलाई स्कुल पठाएपछि दिउँसोको समय ढाका बुनाइमा खर्चिन्छन्। उनका श्रीमान् शिक्षण पेसामा गाउँमै कार्यरत छन्।

ढाका कपडा बुनाइमा संलग्न हुन थालेपछि सामान्य खर्चका लागि श्रीमानसँग हात थाप्नु नपरेको उनको अनुभव छ।

ढाका कपडा बुनेबापत एक मिटरको तीन सयदेखि चारसयसम्म कामदारले ज्याला बुझ्ने गर्छन्। हातको सीपले फुर्सदिला महिलालाई रोजगार गर्ने माध्यम ढाका कपडा बुनाइ बनेको छ।

पछिल्ला वर्षमा सदरमुकाम तानसेनमा सञ्चालनमा रहेका विभिन्न ढाका उद्योगमा पाल्पाका धेरै महिला संलग्न छन्। बेरोजगार, विपन्न, फुर्सदिला महिलालाई ढाका उद्योगले स्वरोजगारको अवसर सिर्जना गरेको छ।

ढाँका