Logo
८ पुस २०८१, सोमबार

महानगरको ट्राफिक व्यवस्थापन : मठमन्दिर दर्शन गर्न पनि मुस्किल

अक्षरपाटी
२०७९ फागुन १६ , मंगलबार ०२:०२ मा प्रकाशित

काठमाडौं १६ फागुन। काठमाडौं महानगरले यतिबेला राजधानीका सडकमा ट्राफिक व्यवस्थापन कडाइ गरेको छ। महानगरको अनुरोधमा ट्राफिक प्रहरीले सडक किनारमा मोटरसाइकल र अन्य सावरीसाधन एकछिन मान्छे वराल्नका लागि समेत रोक्न दिँदैन।

घरायसी प्रयोजनाका लागि सामान मगाउँदा होस वा होम डेलिभरी गर्नेहरुले कुनै सामान घरभित्र दिएर निस्कँदासम्म पनि ट्राफिकको कारबाही स्वीकार्नुपर्ने अवस्था सुरु भएको छ।

‘यसले ग्राहकलाई एउटा सलाई किन्नका लागि अडिने समेत सुविधा छैन’, गौशालामा सामान्य पसल सञ्चालन गर्नै आएकी सारदा दाहालले भनिन्, ‘यस्तोमा कसरी व्यापार गरेर परिवार चलाउनु?’

सडक खुला राख्न महानगरले अपनाएको शैली ठिक भए पनि विना विकल्प पसल अगाडि एकछिनका लागि पनि सवारीसाधन रोक्न नदिनाले एक महिनामै व्यापार ४० प्रतिशतले ओरालो लागेको सारदाको गुनासो छ।

पुरानो समयमा बनाइएका अधिकांश घरहरु भाडामा छन्, ती घरमा व्यापार व्यवसाय सञ्चालनमा रहेपनि पुराना घरमा पार्किङको कल्पना गरिएको छैन। त्यसको मार आफूहरुले खेप्नुपरेको मैतीदेवीमा पुष्प व्यवसाय गर्दै आएकी भगवती रिजालले बताइन्।

‘थुँगा फूल किनेर मन्दिरमा चढाउनका लागि  दुई मिनेट पनि मोटरसाइकल र सवारी साधन अडिन पाउँदैनन्’, उनले भनिन्, ‘अनि कसरी व्यापार गर्नु, कसरी व्यवसाय फस्टाउनु।’ महानगरलाई तिर्नुपर्ने सबैखाले कर तिरे पनि यस्ता असुविधाप्रति ध्यान नदिएको उनको गुनासो छ।

त्यो मात्र होइन मन्दिर क्षेत्रमा दर्शनका लागि आउने दर्शनाथीहरु दुई मिनेट मन्दिरभित्र पुगेर बाहिर फर्कँदासम्म पनि आफू कारबाहीमा परेको अनिता घिमिरेले बताइन्। यस्ता साना देखिने तर हरेक दिन दोहोरिने सम्याप्रति महानगरले ध्यान नदिएर कारबाही मात्र गर्नाले महानगरप्रति नै वितृष्णा बढ्दै गएको छ।

एक ठाउँमा व्यापार व्यवसाय गर्नेको बसाइ अर्को ठाउँमा हुने गरेको विषय बुझ्दै नबुझेर महानगर र ट्राफिक प्रहरीले कारबाहीको डन्डा मात्रै चलाउने र विकल्प नदिने हो भने अवस्था निकै जटिल हुने व्यवसायी बताउँछन्।

मन्दिरहरुसँग भएका जग्गा अन्य प्रयोजनका लागि ठेकामा लगाइएकाले पनि मन्दिरमा दर्शन गर्न आउनेलाई पार्किङको सुविधा नदिँदा दर्शनार्थी थप मर्कामा परेको दर्शनार्थीहरु बताउँछन्।

‘कहाँ कहाँदेखि आस्था बोकेर मन्दिर ढोग्न आइन्छ’, मन्दिरमा दर्शन गर्दा गर्दै ट्राफिक कारबाहीमा परेको किशोर श्रेष्ठे भने, ‘भित्रबाट निस्कँदासम्म कारबाहीको डन्डा चलाइन्छ। खै त मन्दिर व्यवस्थापन समितिले पनि दर्शनार्थीको समस्या बुझेको ?’

कम्तिमा मन्दिर, अस्पतालजस्ता स्थलमा आउनेहरुलाई त्यसका व्यवस्थापन समिति, महानगर र ट्राफिक प्रहरी मिलेर उचित निकाश नदिने हो भने आम रुपमा वितिष्ण झन बढ्नै जाने देखिन्छ।

नारामै ‘पूर्वाधार एम्बुलेन्स सेवा’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पूर्वाधार एम्बुलेन्स सेवा २४सै घन्टा सञ्चालनमा रहने घोषणापत्रमै उल्लेख गरेका थिए। कहीँकतै त्यो सेवा सञ्चालनमा देखिए पनि महानगरका भित्री सडक भने महिनौदेखि खाल्डाखुल्डी बनेका छन्, त्यहाँ पूर्वाधार एम्बुलेन्सको नजर पर्न सकेको छैन।

मैतीदेवी घट्टेकुलो सडकमा मात्र होइन रातोपुल, कालोपुलका भित्री सडक, ज्ञानेश्वरको साँघुरो सडक, नक्सालका गल्लीका सडकको दुर्दशा हेर्ने हो भने तीं सडकमा हिँड्ने कैयौँलाई ढाडको समस्या हुने अवस्था छ।