Logo
६ वैशाख २०८२, शनिबार

आजदेखि गौरीगंगा गोल्डकप, उद्घाटन खेलमा आयोजक गौरीगंगा र डोटी भिड्ने

अक्षरपाटी
२०७९ चैत्र २१ , मंगलबार ०९:०४ मा प्रकाशित

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा आजदेखि तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ हुन लागेको छ।
‘खेलौँ फूटबल रमेर, खेलकुदको संन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदूरपश्चिम गौरीगंगा गोल्डकपको उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टीम भिड्नेछन।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आज उद्घाटन गर्ने प्रतियोगिता चैत ३० गतेसम्म आयोजना हुनेछ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बांके, बर्दिया, नवलपरासी जिल्लाका टीमहरुका साथै नेपाल पुलिस र शसस्त्र प्रहरी बलको टीमको सहभागी हुनेछ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ।

प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धधन गर्न, नगर क्षेत्रमा खेलकूदको चहलपहल बढाउन, ब्यवसायीक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।