Logo
६ वैशाख २०८२, शनिबार

गौरीगंगा गोल्ड कप सुरु : आयोजक क्वाटर फाइनलमा

अक्षरपाटी
२०७९ चैत्र २१ , मंगलबार ०९:०४ मा प्रकाशित

कैलाली। कैलालीको गौरीगंगा नगरपालिकामा मंगलबारदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कप २०७९ सुरु भएको छ।

आज भएको उदघाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो।

पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको हो। खेलको ११ औँ मिनेटमा डोटीका १२ नम्बर जर्सीका खेलाडी हेरी सिंहले गोल गर्दै अग्रता बनाएका थिए।

४० औँ मिनेटमा आयोजकका तर्फबाट जर्सी नम्बर १४ का गणेश लुहारले गोल गर्दा पहिलो हाफको खेल बराबरीमा सकियो।

दोस्रो हाफमा खेलको ७६ औँ मिनेटमा डी बक्स भित्र गौरीगंगाका खेलाडीमाथि फल भएपछि पेनाल्टी पाएको उसले दिनेश थापाले पेनाल्टी गोल मार्फत खेललाई खेल २–१ को अवस्थामा पुगायो।

खेलको ८१ औँ मिनेटमा आयोजकका जनक साउदले गोल गर्दै टिमलाई सहज जित दिलाए। खेलको प्लेयर अफ दी म्याच पनि उनी नै चुनिए।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा –११ स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको आजै सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उदघाटन गरेका थिए।

प्रदेश प्रमुख जोशीले खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको बताए। उनले भने –‘खेलकुदप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। तर, व्यावसायिक नबन्दा खेलाडीहरूलाई जीविकोपार्जन गर्न समस्या भएको छ।’

उनले राज्यले नै खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा लिएको बताए। उनले खेलकुदको विकासका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता हुन आवश्यक रहेको बताए।

उनले भने –‘प्रतियोगिताले खेलाडीको विकास गर्नुका साथै खेलले शारीरिक तन्दुरुस्ती, अनुशासित बनाउन मद्दत गर्छ।’

सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमले खेलाडी लगनशील, अनुशासित नभएसम्म खेलकुदको विकास सम्भव नभएको बताए।

उनले खेलकुद भनेको पहिचान रहेको बताए । उनले भने –‘खेलकुदबाटै कुनै क्षेत्र, स्थान तथा राष्ट्रको पहिचान दिइरहेको छ । यो पहिचानको कडी हो।’

प्रदेश सभा सदस्य जानकी कुँवरले खेलमैदानको स्तरोन्नतिसँगै यस निर्वाचन क्षत्रका आवश्यकता के हुन् स्थानीयका मागका आधारमा विकासको पहल गरिने बताइन। गौरीगंगा ११ स्पोर्ट्स क्लबले थालनी गरेको यो अभियान सफल पार्न सम्पूर्ण सहयोग रहने कुँवरको भनाइ छ।

चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता छ। आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

गौरीगंगा गोल्डकप