Logo
६ वैशाख २०८२, शनिबार

गौरीगङ्गा गोल्ड कप : नव युवा मैत्री भाव क्लब सेमिफाइनलमा

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार ०७:०४ मा प्रकाशित

कैलाली । बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो।

बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

शुक्रबार भएको खेलमा निर्धारित समय भित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट नजिता निकालिएको हो।

पेनाल्टीमा बर्दियाका तर्फबाट योगेश थापा, चिरण कार्की र अभिषेक बमले गोल गर्न सफल भए । कञ्चनपुरका तर्फबाट शिव वोटे र अञ्जन बोगटी मात्र गोल गर्न सफल भए।

प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल प्रवेशका लागि कैलाली र आयोजक प्रतिस्पर्धा गर्नेछन्।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ।

आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।