Logo
३० वैशाख २०८२, मंगलबार

पेरिस ओलम्पिक छनोट : पहिलो चरणबाटै नेपाल बाहिरियो

अक्षरपाटी
२०७९ चैत्र २५ , शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं। पेरिस ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ ।

आज भियतनामसँगको दोस्रो खेलमा नेपाल दुई शून्य गोलले पराजित भएको हो। दशरथ रंगशालामा भएको खेलमा भियतनामले छैटौं मिनेटमा गोलको खाता खोल्यो।

नुगेन थी माइको कर्नरमा फाम हाइ ऐनले गोलकिपर एञ्जिला तुम्बाप्पोको गल्तीमा गोल गरिन्। लगत्तै नेपालले दोस्रो गोल खायो।

ट्रान थीको पासमा फाम हाईले बललाई नियन्त्रणमा लिइ गोल गरिन्। ३९ औं मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो। डी बक्सभित्रबाट साबित्रा भण्डारीले गरेको प्रहार किपर खोन थीले बचाइन्।

पहिलो हाफ दुई शून्यको नतिजामा सकियो। दोस्रो हाफमा कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पोलाई प्रशिक्षक अनन्तराज थापाले परिवर्तन गरे। अञ्जना रानामगरले गोल पोष्ट सम्हालिन्।

६७औं‌ मिनेटमा भियतनामका डिफेन्डरको गल्तीमा दीपा शाहीको प्रहार पोलमा ठोकिंदै बाहिरियो। थप गोल नभएपछि खेल भियतनामले दुई शून्यले जित्यो।

नेपाल पहिलो खेलमा बुधबार भियतनामसँग ५–१ गोलले पराजित भएको थियो। यसअघि टोकियो ओलम्पिकको छनोटमा नेपाल दोस्रो चरणमा पुगेको थियो।

ओलम्पिक छनोटको पहिलो चरणमा एसियाका २६ देशलाई ७ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो चरणका लागि छनोट भइसकेका छन्।