Logo
२७ फागुन २०८१, मंगलबार

विहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

अक्षरपाटी
२०७९ असोज ४ , मंगलबार ०५:०९ मा प्रकाशित

एजेन्सी। भारतको पूर्वी राज्य विहारमा गएको २४ घण्टामा चट्याङ लागेर कम्तीमा २१ जनाको ज्यान गएको छ।

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीका अनुसार कृषि कार्यमा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो।

विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बांका, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएको जानकारी दिए।

यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येक परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन्।

उनले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन्।

विहार