Logo
११ वैशाख २०८१, मंगलबार

हुलाकी सडकले पुराना बजार गुल्जार

अक्षरपाटी
२०७९ असोज १० , सोमबार ०५:०९ मा प्रकाशित

गोलबजार। सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ। यसको अन्तिम चरणको काम भने बाँकी छ। सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ।

घनाबस्ती हुदैँ गएको यस क्षेत्रमा हुलाकी सडकलाई मधेसको लाइफलाईन मानिन्छ। कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माणको काम पूरा नहुँदा तीनटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ। पुल बन्यो भने राजविराजबाट—सिरहा हुँदै सीधा धार्मिक महत्व बोकेको सहर जनकपुरधामसम्म सवारी सञ्चालन हुनेछ।

हुलाकी सडक सुख्खा मौसमा धुलाम्मे र वर्षामा हिल्लाम्मे देखिने गरेकोमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने पुरानो बजार गुल्जार भएको छ।

सप्तरीमा बोदे बर्साइन् बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चोक, सिरहामा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तीन कोरिया, लगमा, सघरा, औरही, भेल लागायतका बजार तीव्र गतिमा विकास भइरहेको छ।

यो राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको हुलाकी सडकमा पर्ने पुराना बजारले काँचुली फेरेको छ। हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण जनताको जीवनस्तर उकासिएको छ। ठूला लगानीका पसल थपिएको छ। किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताए।

सिरहाको बरियारपट्टी बजारको स्वरुप यति बेला फेरिएको छ। बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालेको छ।

‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना–साना व्यवसायी मात्र थिए’, बरियारपट्टीका शङ्कर साहले भने, ‘तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र ठूलो लगानीका पसल खुलेका छन्।’

सप्तरीका बलान बिहुँल गाउँपालिका–२ चन्ही चोकमा १२ वर्ष अगाडि निकै सस्तोमा पाइने जग्गाको भाउ अहिले आकासिएको स्थानीयवासी रामशङ्कर भण्डारीले बताए। ‘सडक पूर्णरुपमा तयार भयो भने जग्गाको भाउ अझै बढ्ला’, स्थानीयवासी प्रमेश्वर दासले भने।

यस क्षेत्रमा पुल निर्माण सम्पन्न हुने वित्तिकै सडकमा गाडी चल्न सुरु हुने तथा धनुषा, सिरहा र सप्तरीका ग्रामीण बस्तीमा आर्थिक गतिविधि बढ्ने नेरुडे लघुवित्त सनैहठा शाखामा कार्यरत हेमन्थ यादवले बताए।

सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्ष भन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन। जसका कारण अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।

सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ। तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ। राजमार्गको दूरी लामो तथा गाडीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन्।

पुलको पूर्व सिरहा नगरपालिका र पश्चिम धनुषाको कमला नगरपालिका पर्छ। कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ मै पप्पु लुम्बिनी विल्डर्सले रु २४ करोड ९१ लाखमा ठेक्का लिएको थियो। केहीँ काम गरी पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो।

एक वर्ष अगाडि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तयारी गरिरहँदा २०७८ असार १७ को सामान्य बाढीले पिलर भासियो, ढलानसमेत खस्यो। सरकारले पुल पुनःनिर्माण गर्न निर्देशन दिए पनि निर्माण व्यवसायी कम्पनीले वास्ता गरेको छैन।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतो भन्छन्, ‘ठेक्का लिएकै कम्पनीले पुनः पुलःनिर्माण गर्छ। वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनिएको थियो। अब काम सुरू हुन्छ।’

यस्तै सिरहाको औरही गाउँपालिका वडा— ५ गागन नदीमा हीराचन रोशन कन्ट्रक्सन प्रालि मार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ। तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम ढिलो हुँदा स्थानीयवासी निराश बनेका छन्।

सिरहा सिमनामा बलान पुल देखि कमला पुल २९.८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुल ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुल देखि जनकपुरधाम २७ किलोमिटर हुलाकी सडक खण्ड पर्छ।

हुलाकी सडक