




० अक्षरपाटी विशेष
धनगढी । सुदूरपश्चिम क्षेत्रमा प्रकृतिले लुकाएर राखेका थुप्रै सुन्दर ठाउँ छन्। तीमध्ये कतिपय ठाउँ धार्मिक आस्थाले चिनिएका छन्, कतिपय प्राकृतिक सौन्दर्यले।
तर धनगढी उपमहानगरपालिका–११ मा रहेको बेलादेवीपुर धाम भने प्रकृति, धर्म, संस्कृति र पुस्तौँदेखि सुनिँदै आएको लोककथाको संगम हो।
बेलादेवीपुर पुग्दा सबैभन्दा पहिले आँखामा कैद हुने दृश्य हो- शान्त, सुन्दर र रमणिय बेलाताल। वरिपरि हरियाली, खुला वातावरण, स्वच्रछ बतास र बीचमा फैलिएको तालले यो ठाउँलाई मनमोहक बनाएको छ।
तर बेलातालको आकर्षण पानीको झिलमा मात्र सीमित छैन। यसको गहिराइमा एउटा पुरानो विश्वास र स्थानीय इतिहास जोडिएको छ।
स्थानीय जनविश्वासअनुसार, यही तालसँग जोडिएको देवीको कथा पुस्तौँदेखि सुनिँदै आएको छ।

देवीको आस्थासँग जोडिएको बेलाताल
स्थानीय बुढापाकाका अनुसार, विगतमा यहाँ धार्मिक अनुष्ठान तथा पूजाआजा गर्दा आवश्यक पर्ने भाँडाकुँडा तालबाट प्राप्त हुने विश्वास थियो।
धार्मिक कार्यका लागि चाहिने भाँडाकुँडा देवीको आराधना गरेपछि तालबाट निस्कने र अनुष्ठान सकिएपछि पुनः तालमै लगेर छाड्ने गरेको किंवदन्ती स्थानीयस्तरमा अझै सुनिन्छ।
काँसका ठूला–ठूला भाँडाकुँडा तालबाट निकालिने भएकाले तिनलाई स्थानीय भाषामा ‘बेला’ भनिने र त्यसैबाट तालको नाम ‘बेलाताल’ रहन गएको स्थानीयको भनाइ छ। जुन कुरा यस धामको सूचना पाटीमा पनि उल्लेख छ।
तालसँग देवीको आस्था जोडिएपछि आसपासको बस्ती बेलादेवीपुरका रूपमा चिनिन थालेको बताइन्छ। सोही नामबाट साबिक नेलादेबीपुर गाविसको नाम रहन गएको थियो।
आज ती भाँडाकुँडा तालबाट निस्कने पुरानो चलन छैन। समय फेरिएको छ, जीवनशैली फेरिएको छ। तर त्यो कथा भने अझै जीवित छ।
कुनै लिखित इतिहासभन्दा पनि पुस्तौँदेखि मानिसको स्मृतिमा बाँच्दै आएको यही कथा बेलादेवीपुरको मौलिक सम्पत्ति भएको साहित्यकार रामलाल जोशीले स्मरण गरे।

ताल मात्र होइन, आस्थाको केन्द्र
बेलादेवीपुर धामलाई नजिकबाट बुझ्दा यो एउटा ताल वरिपरि बनेको सुन्दर ठाउँ मात्रै होइन भन्ने महसुस हुन्छ।
यहाँको वातावरणमा धार्मिक आस्था मिसिएको छ। स्थानीय संस्कृति र परम्परासँग यसको सम्बन्ध जोडिएको छ। त्यसैले यहाँ पुग्ने मानिसका लागि बेलाताल केवल प्राकृतिक दृश्य होइन, श्रद्धाको केन्द्र पनि बनेको छ।
तालको छेउमा केही समय बसेर वरिपरि हेर्दा प्रकृतिको शान्तपन महसुस हुन्छ। शहरको भीडभाडबाट केही टाढा पुगेर खुला वातावरणमा समय बिताउन चाहनेका लागि यो ठाउँ अनुपम लाग्छ।
विशेषगरी स्थानीय धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास गर्न सकिने सम्भावना यहाँ पर्खिएर बसेको छ।
हराउँदै गएको कथा, जोगाउनुपर्ने सम्पदा
बेलादेवीपुरको सबैभन्दा ठूलो विशेषता यही हो-यहाँको पर्यटन सम्भावना कुनै कृत्रिम संरचनाबाट सुरु गर्नुपर्दैन। यहाँ पहिल्यै कथा छ, संस्कृति छ, आस्था छ र प्रकृति छ।
आवश्यकता छ त त्यसलाई व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने र प्रचारको।
स्थानीय ज्येष्ठ नागरिकले सुनाउँदै आएका बेलातालका कथा र किंवदन्तीलाई अभिलेखीकरण गर्न सकिन्छ। तालको धार्मिक तथा ऐतिहासिक महत्वबारे जानकारी दिने सूचना केन्द्र स्थापना गर्न सकिन्छ। ताल वरिपरि पैदलमार्ग, विश्रामस्थल, सरसफाइ र पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सकिन्छ।
त्यसैगरी स्थानीय समुदायको संस्कृति, परम्परागत खानपान र जीवनशैलीलाई पर्यटनसँग जोड्न सकिए बेलादेवीपुरको आकर्षण अझ बढ्न सक्छ।

धनगढीको पर्यटन नक्सामा नयाँ गन्तव्य
धनगढी सुदूरपश्चिमको प्रमुख व्यापारिक तथा आवागमनको केन्द्र हो। तर धनगढीको पहिचान बजार र शहरको चहलपहलमा मात्र सीमित छैन।
यसको आसपास रहेका जोखर ताल, शिवपुरी धाम, बेहडाबाबाजस्ता प्राकृतिक तथा सांस्कृतिक सम्पदाले पनि उपमहानगरको पर्यटन सम्भावना फराकिलो बनाएका छन्।त्यसैमध्ये बेलादेवीपुर एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्छ।
शहरबाट धेरै टाढा जान नपर्ने, प्राकृतिक वातावरणमा रमाउन सकिने, धार्मिक आस्था र स्थानीय संस्कृति बुझ्न सकिने तथा एउटा रोचक लोककथा सुन्न पाइने ठाउँका रूपमा बेलादेवीपुरलाई विकास गर्न सकिन्छ।
यहाँ आउने पर्यटकले एउटा ताल हेरेर मात्र फर्किनुपर्ने छैन। उसले तालसँग जोडिएको कथा सुन्न सक्छ, स्थानीय राना संस्कृति बुझ्न सक्छ र सुदूरपश्चिमको मौलिक जीवनसँग केहीबेर नजिकिन सक्छ।
पर्यटन विकासको आधार बन्न सक्छ ‘बेलादेवीपुर कथा’
आज पर्यटनमा एउटा गन्तव्यको आकर्षण केवल सुन्दर दृश्यले तय गर्दैन। पर्यटकले ‘त्यहाँ पुगेर के अनुभव गर्ने ? भन्ने प्रश्नको उत्तर खोज्छ।
बेलादेवीपुरसँग त्यसको उत्तर छ- बेलाताल, बेलादेवीको आस्था र एउटा पुरानो लोककथा अनि स्थानीय सँस्कृति।
यही कथालाई केन्द्रमा राखेर बेलादेवीपुरलाई चिनाउन सकिन्छ। तालको संरक्षणसँगै धार्मिक स्थलको विकास, स्थानीय इतिहासको अभिलेखीकरण, पर्यटकका लागि आवश्यक पूर्वाधार र प्रचारप्रसारमा ध्यान दिन सके यो क्षेत्र धनगढीको एउटा आकर्षक पर्यटन गन्तव्य बन्न सक्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, यसको विकास स्थानीय समुदायको सहभागितामा हुनुपर्छ। बाहिरबाट केवल संरचना थप्नेभन्दा स्थानीयले पुस्तौँदेखि जोगाएर राखेको कथा र संस्कृतिलाई पर्यटनसँग जोड्नु बढी प्रभावकारी हुन्छ।

बेलातालले बोलिरहेको कथा
समयसँगै धेरै पुराना कथा हराउँदै गएका छन्। कतिपय ठाउँको इतिहास पुस्तकमा सीमित भएको छ। तर बेलादेवीपुरको कथा अझै स्थानीय मानिसको बोलीमा जीवित छ।
बेलातालको शान्त पानी हेर्दा आज पनि स्थानीय पुस्ताले सुनाउँदै आएको त्यो कथा सम्झन सकिन्छ- जहाँ धार्मिक अनुष्ठानका लागि आवश्यक भाँडाकुँडा तालबाट निस्कन्थे र काम सकिएपछि फेरि तालमै फर्काइन्थे।
त्यो कथा सत्य कति हो, किंवदन्ती कति हो- यसको खोज, अध्ययन र अन्वेषण महत्वपूर्ण विषय हो। तर एउटा कुरा निश्चित छ- यही लोकविश्वासले बेलादेवीपुरलाई अरू ठाउँभन्दा फरक पहिचान दिएको छ।
धनगढी–११ को बेलादेवीपुर धाम त्यसैले केवल एउटा धार्मिक स्थल होइन, प्रकृतिको काखमा बाँचेको एउटा कथा हो।
पर्यटन बेलादेबीपुर धाम

