Logo
१६ मंसीर २०७९, शुक्रबार

‘चुनाव जितेपछि बस्तीमा छिर्दैनन्, अब हाम्रो जीवन उकास्ने उम्मेदवारलाई मात्र मतदान’

अक्षरपाटी
२०७९ कात्तिक ७ , सोमबार १०:१० मा प्रकाशित

कञ्चनपुर। भीमदत्त नगरपालिका ९ ब्रह्मदेवकी वसन्ती ढकालको चुलोमा मजदुरी नगरे आगो बल्दैन। त्यसका लागि उनी दैनिक बिहानीको झिसमिसेदेखि साँझसम्म उनी मजदुरी गर्छिन्।

गाउँमा वसन्तीको बस्नका लागि सानो झुपडी छ। झुपडीमा बालबालिकासँग उनी बस्दै आएकी छन्। झुपडी बनाइएको जग्गा उनको स्वामित्वको होइन।

मजदुरीको पैसाले उनको साँझ बिहानको खाना खर्च जुट्ने गरेको छ। “मजदुरी नपाइएका बेला भोकभोकै बस्नुपर्छ”, उनले भने, “गाउँमा कृषि मजदुरका रुपमा र गाउँमा मजदुरी नपाइए निकटवर्ती भारतीय टनकपुर बजारमा गएर मजदुरी गर्दै आएको छु।”

उनले लोकतन्त्र स्थापनापछिका चुनावमा निरन्तररुपमा मतदान गर्दै आएको बताइन्। निर्वाचनमा उम्मेदवार हुनेले घरमै पुगेर पुनः स्थापनसँगै घर निर्माण गर्ने, रोजगारी दिने कुरामा अश्वास्त पारेर जान्छन्।

“वाचा र प्रतिबद्धता गर्ने उम्मेदवारले चुनाव जितेपछि वर्षौंदेखिको गरिबीको अन्त्य गर्नेमा ढुक्क हुन्छौँ”, उनले भनन्,ि “चुनाव जितेपछि कोही पनि बस्तीमा छिर्दैनन्।”

विगतमा चुनाव होरेका फर्केनन्, जितेका राजनीतिक दलका उम्मेदवारले वाचा र कसम खाएरै भोट मागे, उनीहरु पनि फर्केनन् अहिले पनि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मत माग्न उम्मेदवार पुग्न थालेका छन्, पुरानै उम्मेदवारजस्तै वाचा कसम खाने क्रम जारी रहेको उनले सुनाइन्।

बुबाबाजेदेखि ससूरा र श्रीमानले वर्षौंदेखि अर्काको घरमा हलिया बसेर काम गरेको भए पनि परिचयपत्रसम्म पाउन नसकेको उनले गुनासो गरिन्।

मुक्तहलियामा आफूलाई समेटेर राहत र घर बनाइदिनेलाई मात्र यसपटकको चुनावमा मतदान गर्ने उनले सुनाइन्।

वसन्तीजस्तै शंकर दमाईंको अवस्था दयनीय छ। सीमा क्षेत्र नजिकै बस्दै आएका दमाईंले हलियाबाट मुक्त भएपछि परिवार पाल्नकै लागि निकै सास्ती खेप्नुपरेको बताए।

“रोजगारी छैन”, उनले भने, “भारतमै कुल्ली र दरबान बनेर जीवन गुजार्नुपरेको छ, भारतमै कमाएको पैसाले परिवारको खर्च चल्छ, स्वदेशमै रोजगारीको व्यवस्था गर्न सघाउने उम्मेदवारको खोजीमा छौँ, अहिलेसम्म भेटिएका छैनन्।”

पुनःस्थापना प्याकेजमा नसमेटिँदा धेरै मुक्तहलिया परिवारको अवस्था दयनीय रहेको कालुराम सार्कीले बताए।

“मजस्तै सामुदायिक वन र नदी किनारामा झुपडी बनाएर धेरै मुक्तहलिया परिवार पुनःस्थापनको पर्खाइमा छन्”, उनले भने, “वर्षौंदेखि जातीय छुवाछूतसँगै गरिबीमा पिल्सिदै आए पनि कसैले अहिलेसम्म हेरेका छैनन्।”

कागजीरुपमा छुवाछूत अन्त्य भए पनि व्यहारमा यथावत रहेकाले त्यसको अन्त्य गर्न नीतिगत व्यवस्था गर्ने र मुक्तहलिया परिवारको सहज जीवनयापन गर्न पहुँच अभिवृद्धि गर्ने हैसियत राख्ने उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ छ।

राष्ट्रिय मुक्तहलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार समयसापेक्षरुपमा पुनःस्थापन प्याकेज ल्याएर लगतमा समावेश हुन नसकेका मुक्तहलिया परिवारलाई पुनःस्थापन गर्नुपर्ने बताए।

“वर्षौंदेखि मुक्तहलियालाई भोट बैंकका रुपमा प्रयोग गरियो”, उनले भने, “न्यायोचितरुपमा पुनः स्थापनको कार्य गरिएको छैन, घर बनाउन मुस्किल हुने थोरै जग्गामा पुनः स्थापना गरिएको छ, यस कार्यलाई समयसापेक्ष बनाइनुपर्छ, घर निर्माण गरेर मात्रै पुग्दैन, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गरिनुपर्छ।”

चुनावी नारामा मात्रै मुक्तहलियालाई समेटिए त्यो अब स्वीकार्य नहुने विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समिति, रोजगारीका क्षेत्रसँगै राजनीतिलगायतको निर्णायक तहमा मुक्तहलियाको समावेशी, समानुपातिकरुपमा अर्थपूर्णरुपमा सहभागिता हुनुर्ने र यी कुराको ग्यारेण्टी गर्नका लागि प्रतिबद्धता गर्ने उम्मेदवारलाई नै चयन गर्ने उनीहरुको भनाइ छ।

जिल्लामा लगतमा समावेश भएका दुई हजार पाँच सय १६ मध्ये एक हजार नौ सय ९१ ले परिचयपत्र पाएका छन्। हालसम्म एक हजार आठ सय ३० परिवार पुनः स्थापन भएका छन्। लगतकट्टी गएिकाको सङ्ख्या पाँच सय २५ छ। अझै पुनः स्थापन हुन बाँकी एक सय ६१ परिवार छन्।

कञ्चनपुर मतदान मुक्तहलिया