Logo
१६ चैत्र २०८०, शुक्रबार

कञ्चनपुरलाई त्रिदेशीय व्यापारिक नाका बनाउँछु : नेता लेखक

अक्षरपाटी
२०७९ कात्तिक ९ , बुधबार १२:१० मा प्रकाशित

कञ्चनपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय व्यापारिक नारा बनाउने बताए।

उनले आफ्नो चुनावी एजेन्डा नै कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउनु रहेको बताए। आज भीमदत्त नगरपालिका–१४ को बस्तीमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै नेता लेखकले राजनीति विकासका लागि भएको बताए। उनले राजनीति कसैलाई पदमा पु¥याउनका लागि मात्रै नभएको बताए।

“राजनीति विकासका लागि हो, विकास समृद्धिका लागि हो”, उनले भने, “राजनीति पदमा पुग्नका लागि मात्रै गरिन्छ भने त्यसको अर्थ हुँदैन र त्यो गन्तव्यमा पुग्दैन।”

उनले राजनीतिलाई विकाससँग जोड्न आवश्यक रहेको बताए। “विकासलाई समग्र समाजको समृद्धिसँग जोड्न सकिन्छ, हामीले जनतालाई केही दिन सकेनौँ भने यो व्यवस्थाप्रति फेरि निरासा हुन्छ”, उनले भने, “त्यसैले मैले कञ्चनपुरमा त्रिदेशीय व्यापारिक नाकाको सम्भावना देखेको छु।”

उनले नेपाल–भारत र नेपाल चीन जोड्नका लागि कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने आफ्नो चुनावी एजेन्डा रहेको बताए।

“त्रिदेशीय नाकाका रूपमा विकास गर्न केही काम भएका छन्”, उनले भने, “यसलाई पूर्णता दिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो प्राथमिक एजेन्डा हो।”

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले दलका उम्मेदवार घरदैलोमा पुगेर मतदाता रिझाउन व्यस्त छन् ।

कञ्चनपुर कांग्रेस रमेश लेखक