Logo
३१ भदौ २०८२, मंगलबार

प्रधानमन्त्री कपमा सुस्ताएको सुदूरपश्चिम

अक्षरपाटी
२०७९ कात्तिक २१ , सोमबार ०७:११ मा प्रकाशित

0 रोहित गिरी

काठमाडौं। सुदूरपश्चिमलाई नेपाली क्रिकेटको उर्भर भूमिका रुपमा लिइन्छ । सुस्ताएको नेपाली क्रिकेटलाई प्रतियोगिता आयोजना गरेरै भएपनि ब्यूँत्याउने होस् वा बिलाएको क्रिकेटको क्रेजलाई उठाउन सुदूरपश्चिमको ठूलो भूमिका छ । अझ राष्ट्रिय टोलीलाई प्रतिभावान खेलाडी दिन सुदूरपश्चिमको योगदान त बिर्सिनै सकिँदैन।

राष्ट्रिय टोलीमा देखिने सुदूरपश्चिमका खेलाडीको बाहुल्यताले पनि नेपाली क्रिकेटको बिरासत हरेक हिसाबमा यहि प्रदेशले धानेको छ भन्दा फरक नपर्ला। त्यसैले नै सुदूरपश्चिमलाई खेलकुदको धनी प्रदेशका रुपमा मानिन्छ । तर, जारी प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको क्रिकेट टोलीले आफ्नो बिरासत थाम्न सकेन।

क्रिकेटको राष्ट्रिय प्रतियोगितामा तीन विभागपछि सुदूरपश्चिमलाई बलियो टोलीको रुपमा लिइन्छ । यद्यपि तथ्याङकलाई आधार मान्य हो भने सुदूरपश्चिमले प्रधानमन्त्री कपमा अहिलेसम्म सेमिफाइनलसम्मको यात्रा तय गरेको छैन्। तर, प्रतिस्पर्धामा बलियो टोलीलाई निकै चुनौति दिँदै आएको थियो । यसपटक भने सुदूरपश्चिमको टोलीको प्रदर्शन पूर्ण फेरिएको छ ।

दुई महिनाअघि काठमाडौंमै सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले कास्य पदक जितेको थियो। नवौंमा कास्य पदक जित्दाको टोलीमा खासै परिवर्तन छैन्। धेरैजसो उनै अनुहारलाई समावेश गर्दै सुदूरपश्चिमले प्रधानमन्त्री कपका लागि टोली तयार पार्यो । त्यही उत्साहलाई दोहोर्याउने लक्ष्यका साथ काठमाडौं पुगेको टोलीले पहिलो खेलमा नै लज्जास्पद हार व्यहोर्न पुग्यो।

तस्वीर : क्यान

गण्डकी प्रदेशसँग ६९ रनले पराजित हुँदै सुदूरपश्चिमले प्रतियोगिताको सुरुवात गर्यो । दोस्रो खेलमा एपीएफसँग १० विकेटले पराजित भएको सुदूरपश्चिम तेस्रो खेलमा त्रिभुवन आर्मीसँग १ सय ६९ रनको फराकिलो हारसहित प्रतियोगिताबाट बाहिरियो।

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको हारको मुख्य कारण प्रशिक्षक खगराज भट्ट तयारी नपुग्नुलाई मान्छन् । ‘तयारी जस्तो हुनु पर्ने हो त्यस्तो हुन पाएन् । समय छोटो भयो । खेलाडीले एक अर्कालाई राम्रोसँग चिन्ने मौका नै पाएनन्,’ प्रशिक्षक भट्टले भने, ‘हामीले काठमाडौंको होटेलमा सँगै बस्न थालेपछि एक अर्कालाई चिन्न थाल्यौ । टिमको तालमेल मिल्नका लागि खेलाडीले एक अर्कालाई चिन्न र बुझ्न पनि जरुरी हुन्छ । जसको परिणाम हामीले अहिले पाइरहेका छौं।’

प्रधानमन्त्री कप क्रिकेट एकदिवसीय फम्र्याटको प्रतियोगिता हो । ५० ओभरको यस प्रतियोगितामा क्रिज सम्हाल्न सक्ने खेलाडी हुन जरुरी छ । तर, सुदूरपश्चिमका खेलाडी क्रिजमा टिक्नै सकेनन् ।

यसको अर्को कारण सुदूरपश्चिम ब्याटिङ अडरमै चुक्नु पनि हो। हुन त सुदूरपश्चिमले क्षेत्रिय छनोट नै एकदिवसीय फम्र्याटमा गराउन सकेन् । समय छोटो भएको बहानामा प्रदेशले ३०–३५ ओभरको खेलमा नै सिमित गरायो । जसले गर्दा खेलाडीहरु लामो फम्र्याटको खेलमा अभ्यस्त हुन पाएनन् । छोटो फम्र्याटको खेलमा अभ्यस्त भएका उनीहरु क्रिजमा टिक्न नसक्नुको अर्को कारण बन्यो।

‘हाम्रा खेलाडी छोटो फम्र्याटको क्रिकेटमा अभ्यस्त भए । हामीले छनोट नै ५० ओभरको गराउन सकेनौँ। आवस्यकता अनुसार २५–३० ओभरको खेल गराउँदै खेलाडी छनोट गरियो । जहाँ फाइनल खेल मात्रै ४० ओभरको खेलेका थिए,’ प्रशिक्षक भट्टले भने ।

सुदूरपश्चिमको टोलीमा स्टार खेलाडी नभएका भने हैनन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका र घरेलु प्रतियोगितामा नाम कमायका खेलाडीको टोलीमा बाहुल्यता छ । तर, खेलाडीले नाम अनुसारको प्रदर्शन गर्न सकेनन्।

प्रशिक्षक भट्ट भन्छन्, ‘केही खेलाडीबाट धेरै आसा गरिएको थियो । तर, अनुभवी खेलाडीको प्रदर्शन नै राम्रो हुन सकेन् । नयाँ खेलाडीले पनि सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् । हामी धेरै हिसाबमा यसटकप चुकेका छौं।’

सुदूरपश्चिम टोलीमा रहेका सबैभन्दा अनुभवी खेलाडी हुन् कप्तान राजु रिजाल। उनले नेपालको उमेर समूहको टोलीको कप्तानी समेत सम्हाली सकेका छन् । तर, कप्तान रिजाल लामो समयदेखि घरेलु प्रतियोगितामा लयमा छैनन् । लामो समयदेखि लय बाहिर रहेका उनलाई अनुभवकै आधरमा टोलीमा स्थान दिँदै आउनु सुदूरपश्चिमको अर्को कमजोरी हो । उनी आफै पनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैनन् ।

‘कप्तान र टिमको सबैभन्दा अनुभवि खेलाडीको हिसाबमा धेरै कुराको जिम्मेवारी मेरो हुन्छ । खेलको परिणामको जिम्मेवारी पनि मैले लिनुपर्छ र त्यो स्वीकार्नु पनि पर्छ,’ कप्तान रिजालले भने, ‘मेरो अनुभवनको सदुपयोग पनि गर्न सकेको छैन् । म आफै आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैन्। यस्तो अवस्थामा नयाँ खेलाडीलाई दोष दिनुको कुनै अर्थ छैन् ।ु

सुदूरपश्चिमको टोलीमा त्यही खेलाडी दोहरिनुको मुख्य कारण कोटा सिस्टम हुनु हो। क्यानको सदस्य रहेको जिल्लाबाट कम्तिमा दुई खेलाडी प्रदेशको टिममा राख्नैपर्ने सुदूरपश्चिमको नियम छ । जसले गर्दा सम्भावना बोकेका नयाँ खेलाडी अवसरबाट बञ्चित बनिरहेका छन्। अझ युवा खेलाडीलाई प्रशिक्षकले नै विश्वाश गर्न सकिरहेका छैनन्।

घरेलु प्रतियोगितालाई खेलाडी उत्पादनको माध्यमका रुपमा पनि लिइन्छ । तर, यतिबेला प्रधानमन्त्री कपबाट नयाँ खेलाडीको उदय भएको पाइँदैन् । नेपाल क्रिकेट संघ (क्यान) सँग प्रतियोगिताको स्पष्ट क्यालेन्डर नहुनुले नाम मात्रैको प्रतियोगिता बनेको प्रशिक्षक भट्टले भने।

‘प्रतियोगिता एक दुई साताका लागि आयोजना गर्नु मात्रै हैन । आयोजना गरिसकेपछि त्यसबाट केही पाउनु पनि हो । नयाँ खेलाडी उत्पादन गर्नु हो। जसरी हेरक पतियोगितामा सुदूरपश्चिमबाट नयाँ खेलाडीको उदय हन्थ्यो । तर, यसपटक हतारमा गरिएको छनोटका कारण राम्रो खेलाडी नै देखिएको छैन,’ उनी भन्छन् ।

 

प्रधानमन्त्री कप सुदूरपश्चिम