Logo
१६ चैत्र २०८०, शुक्रबार

काभ्रे २ : हुमागाईँलाई उछिन्न बाँस्कोटालाई सकस

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ०२:११ मा प्रकाशित

काभ्रे। निर्वाचन आउन अब साता दिन मात्रै छ। चुनाव नजिकिएसँगै कतिपय उम्मेदवारको धडकन बढ्न थालेको छ भने कति उत्सव मनाउन आतुर छन्।

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा २ मा पनि चुनावी प्रचार–प्रसारको तीव्रता बढ्दै गएको छ।

यो क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र एमालेका गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान गरिएको छ।

दुबै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन्। दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन्।

बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन। केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रहँदा उनी ७० करोड घुष प्रकरणमा मुछिएपछि राजीनामा दिन वाध्य भएका थिए।

उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाई ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने संविधानसभा निर्वाचन ०६४ र ०७० मा पराजित भएका थिए। अघिल्लो निर्वाचनमा हुमागाईले विश्राम लिएका थिए।

हुमागाईँ र बाँस्कोटालाई दुबै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ। तर घुष प्रकरणले बाँस्कोटाको छवि त्यति राम्रो नभएको चर्चा हुने गरेको छ।

हुमागाईँ र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान पनि गरिएको छ।

०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए।

०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटा पार्टीका विभिन्न भातृ संगठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य छन्।

०७० को संविधानसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन ०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गर्दै मन्त्रीसमेत भए।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटालाई यसपटक गठबन्धन दल चुनौतिका रुपमा देखिएका छन्।

हुमागाईलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपुरका गठबन्धन दलअन्तर्गत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ छ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ।

०४४ मा नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गरेका दोङ तत्कालीन नेकपा माओवादीको दश वर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गरेका छन्।

यस्तै ०६४ को संविधानसभा सदस्य निर्वाचनमा दोङले कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका सङ्ग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित भएका थिए। दोङ ०७० को संविधानसभा सदस्य निर्वाचनमा भने नेपाली कांग्रेसका तीर्थ लामासँग पराजित भए।

यसैगरी ०४७ देखि विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका लामालाई एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको हो। राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै ०७० को संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गरेका थिए। उक्त प्रतिनिधिसभा क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन्।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ। प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र १ र २ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा हुन। उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन्।

यसैगरी प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा क्षेत्र १ र २ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ छन्। उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा छन्।

काभ्रेपलाञ्चोकमा ६ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन्।

गोकुल बाँस्कोटा शिवप्रसाद हुमागाईँ