Logo
१६ मंसीर २०७९, शुक्रबार

सुकुम्बासी भन्छन् : ‘हामीले लालपुर्जा कहिले पाउने ?’

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ०५:११ मा प्रकाशित

ढोरपाटन। “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्,” बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँ भने। उनको आफ्नो र पैतृक सम्पत्ति केही छैन।

मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए। आफूलाई लालपुर्जा दिलाउन नसकेको उनले गुनासो पोखे।

उनी आफ्नो जग्गा, जमिन र बस्ने बाससमेत नभएको जनाउँदै अरुको आश्रय लिएर बस्नुपरेको बताउँछन्। नेताले जित्नका लागि सुकुम्बासी बस्तीमा आएर भोटका लागि अनेक आश्वासन दिने तर काम भने नगरेको उनको भनाइ छ।

“अहिलेसम्म दर्जनौँ नेताले सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिनुभयो, हामी पनि होला भन्दै आश गरेर बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा। धेरै व्यवस्था फेरियो तर हाम्रो अवस्था उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महँगी उस्तै, निकै दुःख पाएका छौँ”, उनले भने, “चुनाव आउने बेला जहिले पनि सुकुम्बासीको काम गर्न हामी चुनावमा उठेका छौँ, जितेपछि तपाईँहरूका लागि यो गर्छौँ, त्यो गर्छौँ भन्छन् तर जितेर गए भने एकपटक पनि हामीलाई भेट्न आउँदैनन्, हाम्रा आशाहरू यतिकै मरे।”

आफ्ना ६ भाइ छोरामध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको जनाउँदै अन्य पाँच भाइ सुकुम्बासी नै रहेको मियाँले बताए। उनले वर्षौँदेखि सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टीका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो पोखे।

स्थानीय आमुला खातुनले चुनावका बेला आश्वासन दिने नेताले सुकुम्बासीका लागि रोजगारको व्यवस्था मिलाइदिए दैनिकी चलाउन सहज हुने बताए।

उनले रोजगारसमेत नहुँदा दैनिकी चलाउनसमेत गाह्रो पर्ने बताए। खातुनले वृद्धवृद्धाले नसके पनि युवाहरूले काम गर्न सक्ने र परिवार चलाउन सहज हुने उनको भनाइ छ। सुकुम्बासीका लागि राज्यको नजर पुग्न नसकेको उनले बताए।

“सांसद, मन्त्रीहरू भएका सबै हामीहरूले मत दिएर जितेका त हुन् नि, उनीहरूलाई हामीले माथि पु¥यायौँ, तर हाम्रा लागि कसैले केही गर्न सकेन, चुनावका बेला भोट माग्न आएर यो गदिन्छौँ र ऊ गदिन्छौँ भन्नेले केही नगरेर सुकुम्बासीलाई रोजगरको व्यवस्था गरिदिए त आफैँ कमाएर जीवन चलाउन सकिन्थ्यो नि”, उनले भने।

उनले यहाँका बालबालिका, वृद्धवृद्धालाई अझ बढी समस्या पर्ने गरेको बताए। उनले सुकुम्बासीहरू अरुको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधोपचारमा बढी समस्या हुने गरेको हुँदाको सुनाए।

उनी भन्छन्, “नेताहरूसँग हाम्रो ठूलो अपेक्षा छैन, हामीहरूको आधारभूत आवश्यकता पूरा गरिदिए अरु हामी जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ताकपडाको समस्या हुन्छ, खाना र अरुको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीले पढ्न पनि समस्या छ, औषधोपचार पाउनै गाह्रो छ।”

स्थानीय यज्ञबहादुर क्षेत्री सुकुम्बासी बन्नुपरेको धेरै समय भएको छैन। आधा दशक अगाडिसम्म उनीको व्यवसाय, गाडी थियो। परिवार राम्रोसँग चलेकै थियो। बैंकबाट ऋण लिएर गाडी किनेको केही समयै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डामाडोल बन्यो। बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुम्बासी हुनुप¥यो।

आफू सुकुम्बासी भएपछि धेरै नेताले घर बासको व्यवस्थापन गरीदिने आश्वासन दिए पनि काम नगरेको बताए। उनी अहिले भोट माग्न आउने उम्मेदवारलाई आफूजस्ता सुकुम्बासीको समस्या समाधान नगरेसम्म मत नदिने बताउछन्।

अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घरपरिवार सुकुम्बासी छन् । आफूहरूलाई स्वास्थ्य, शिक्षा, खानेपानी निकै समस्या रहेको उनीहरू बताउँछन्।

यो चुनावमा आफूहरू एकजुट भएर आफ्ना समस्या समाधान गरीदिने नेतालाई मात्रै भोट दिने योजना बनाएको उनीहरूको भनाइ छ।