Logo
१३ वैशाख २०८१, बिहीबार

केपी ओली उल्टो बाटो लाग्नुभयो, त्यसैले गठबन्धन आवश्यक भयो : प्रधानमन्त्री देउवा

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०७:११ मा प्रकाशित

डडेल्धुरा ३० कार्तिक। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन्।

गृहजिल्ला डडेल्धुराको भागेश्वरा गाउँपालिकामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताए।

संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको बताए। मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासँग अपिल गरे।

‘तपाईंहरुलाई थाहा छ। केपी ओलीले संविधान मिच्न खोज्नुभयो। पटकपटक संसद विघटन गर्नुभयो। उहाँहरुले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने तपाईंहामी सबैलाई लागेको थियो। तर, उहाँले उल्टो बाटोमा लाग्नुभयो। दुःख गरेर बनाएको नयाँ संविधानविपरीत काम गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो। त्यसकारण हामीले गठबन्धन गरेका हौँ’, देउवाले भने। अझै गठबन्धनलाई लामो समय कायमै रहने उनले बताए।

चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेल्धुरा पुगेर चुनावी सभालाई सम्बोधन गरेका देउवाले भागेश्वर गाउँपालिका विकट रहेको र प्रायः सबै गाउँमा सडक पुगेको उल्लेख गर्दै अब सडक कालोपत्र गरिने बताए।

आजै उनले बोगटासँगै अमजयमेरु गाउँपालिका–५ को देवल र गन्यापधुरा गाउँपालिका–३ को सकायलमा आयोजित चुनावी सभालाई र बैतडीको चुनावी सभामा समेत सम्बोधन गरेका छन्।