Logo
१४ वैशाख २०८१, शुक्रबार

ललितपुर ३ : भुसालका लागि तोसिमा चुनौती

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ०४:११ मा प्रकाशित

ललितपुर, १ मंसिर। आज रातिदेखि मौन अवधि सुरु हुने भएपछि आज देशैभरका उम्मेदवारलाई प्रचारप्रसार गर्न भ्याइनभ्याइ छ।

ललितपुर ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनको माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उर्जामन्त्री पम्फा भुसाल, एमालेका उम्मेदवार अमृत खड्का राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा तोसिमा कार्कीलगायत २० जना उम्मेदवार मतदाता फकाउन घरदैलोमा छन्।

विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी उपमहासचिव भुसाल, एमालेका उम्मेदवार अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीबीच देखिएको छ।

भुसाल, खड्का र डा कार्कीबाहेक ललितपुर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जन थापाले उम्मेदवारी दिएका छन्।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट सपना महर्जन, नेपाल आमा पार्टीबाट कविता राई, लोकतान्त्रिक समाजवादी पार्टीबाट किरण शाही, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, नेसनलिष्ट पिपल्स पार्टीबाट चिरञ्जीवी सापकोटा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णुकुमार लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्रप्रसाद ओझा, हाम्रो नेपाल पार्टीबाट राजाराम तण्डुकार र मौलिक जरोकिलो पार्टीबाट धीरेन्द्र सोडारीले उम्मेदवारी दिएका छन्।

राजनीतिक दलबाहेक सञ्जय महर्जन, जेसनदेव वैद्य, विष्णु महर्जन, चिरन थापा, कृष्णभक्त ब्रह्मचार्य, राधेश्याम खड्का र रघुनाथ केसीले स्वतन्त्र उम्मेदवार हुन्।

चुनावी मैदानमा २० जना उम्मेदवार भए पनि गठबन्धन दल र एमालेका उम्मेदवारका लागि तोसिमा कार्की चुनौतीका रुपमा देखिएकी छन्।

उनको चर्चा निकै भएको छ। उम्मेदवारी रद्दखेखि अदालती प्रक्रियासम्मले कार्की झन चर्चामा छन्। उनलाई युवापुस्ताले रुचाएको देखिन्छ।

गोदावरी नगरपालिका–१२ र १४ ललितपुर महानगरपालिका–१, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ गरी २२ वटा वडाहरू रहेको यो क्षेत्रमा ९४ हजार एक सय १६ मतदाता छन्।

जसअनुसार ४५ हजार तीन सय ६ पुरुष र ४८ हजार आठ सय १० महिला मतादाता रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ।

दुईचोटी सांसद हुनुभएकी नेता भुसालले गत निर्वाचनमा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई एक हजार सात सय आठ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन्।

भुसाल यस पटक अमात्यकै सहयोग लिएर सांसद बन्ने अभियानमा छन्। गत निर्वाचनमा भुसालले २४ हजार ३६ मत ल्याएकी थिइन भने अमात्यले २२ हजार तीन सय २८ मत ल्याएका थिए।

एमाले उम्मेदवार खड्का र डा कार्की सांसदमा पहिलोपटक प्रतिस्पर्धामा छन्। खड्का ०५४ मा तत्कालीन सैबुँ गाविसको अध्यक्ष थिए। डा कार्की उम्मेदवार हुनुअघिसम्म पाटन अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत थिइन्। ३२ वर्षीया डा कार्की सानैदेखि नेतृत्वदायी भूमिकामा आउन रुचाउने स्वभावकी थिइन्।

भुसालले आफू दुई पटक सांसद र मन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मानेकी छन्।

यता खड्काले सामाजिक तथा आर्थिक परिवर्तनका लागि काम गर्न जनताले मत दिएर विजयी गराउने दाबी गरे।

तोसिमाले भने पुरानो पुस्ताले गरेको संघर्षको सम्मान गर्दै उनीहरुले पटकपटक अवसर पाएर पनि अवस्था परिवर्तनमा भूमिका नखेलेकाले अब आफूलाई जनताले जिम्मेवारी दिनेमा ढुक्क भएको बताइन्।

यस क्षेत्रका कूल २२ मध्ये गत स्थानीय चुनावमा सातवटामा कांग्रेसले, तीनवटा माओवादी केन्द्रले, दुईवटामा नेकपा एकीकृत समाजवादी, दुई वटामा स्वतन्त्र र आठ वटामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गरेको थियो।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा कांग्रेसले १८ हजार पाँच सय ४५, एमालेले १७ हजार सात सय नौ, माओवादीले सात हजार सात सय २७, एकीकृत समाजवादीले पाँच हजार एक सय २९ र राप्रपाले चार हजार तीन सय ३२ मत प्राप्त गरेको छ। यो क्षेत्रमा एमालेले कसैसँग पनि तालमेल गरेको छैन।

डा तोसिमा पम्फा भुसाल