Logo
८ वैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा ४८ प्रतिनिधि निर्वाचित हुँदै

अक्षरपाटी
२०७९ मंसीर २ , शुक्रबार ०९:११ मा प्रकाशित

सुदूरपश्चिम २ मङ्सिर। आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन्।

प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनौट हुन लागेका हुन्।

नौ जिल्ला रहेको प्रदेशको तराईको जिल्ला कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच सदस्य चुनिन लागेका छन्।

तराईकै जिल्ला कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन, पहाडको अछामबाट दुई र अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एक जना चुनिन लागेका हुन्।

कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुई जना निर्वाचित हुन लागेका हुन्।

०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको तत्कालीन वाम गठबन्धन अधिकांश क्षेत्रमा विजयी भएको थियो।

डडेलधुरा र कैलाली क्षेत्र नं १ बाहेक सबै क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी प्रतिनिधिसभामा विजयी भएका थिए।

डडेलधुरामा प्रधानमन्त्री देउवा र कैलाली १ मा रेशमलाल चौधरी विजयी भएका थिए।

प्रदेशसभा सदस्यका लागि ३२ क्षेत्रमध्ये प्रत्यक्षतर्फ पाँच निर्वाचन क्षेत्रबाहेक अन्यमा वाम गठबन्धनका प्रत्यासी विजयी भएका थिए।

आउने चुनावमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धी छन्। उनी ०४८ देखि ०७४ सम्म भएका सबै चुनावमा विजयी भएका छन्।

चुनावमा यो पटक उहाँ डडेलधुराबाट सातौँपटक प्रतिस्पर्धी छन्।

०६४ यता भएका निर्वाचनमा देउवाका मुख्य प्रतिस्पर्धी रहेका माओवादीका नेता खगराज भट्ट आउने चुनावमा डडेलधुराको प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन्।

कैलाली निर्वाचन क्षेत्र नं ४ बाट एमालेका प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लेखराज भट्ट प्रतिस्पर्धी छन्।

कैलाली ४ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिस्पर्धामा छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन्।

एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना सोही क्षेत्रबाट चुनावी मैदानमा छन्।

बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेय र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा उम्मेदवार छन्।

अछाम–१ मा श्रम तथा रोजगारमन्त्री एवं एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर र एमाले नेता एवं प्रदेश सरकारका पूर्वमन्त्री झपटबहादुर बोहरा चुनाव लड्दैछन्।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी प्रत्यासी छन्।

सोही क्षेत्रमा कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरी र एमाले नेता तपेन्द्र रावल प्रतिस्पर्धामा छन्।

वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद कञ्चनपुर २, अर्का केन्द्रीय सदस्य रमेश लेखक कञ्चनुर ३ बाट प्रतिस्पर्धा गर्दै छन्।

माओवादीका केन्द्रीय सदस्य बिना मगर कञ्चनपुर–१ बाट प्रत्यासी छन्। क्षेत्र–३ मा एमालेका निरुदेवी पाल, क्षेत्र २ मा एमालेकै नरबहादुर धामी क्षेत्र १ मा एमालेकै तारालामा तामाङ उम्मेदवार छन्।

सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन्। सबैभन्दा बढी कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन्।

कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ र अछाममा एक लाख ५८ हजार ६ सय ५७ मतदाता छन्।

सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन्। बझाङमा एक लाख २२ हजार तीन सय ७६, दार्चुलामा ८९ हजार एक सय ५४, डडेलधुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय २९ र डोटीमा एक लाख २४ हजार आठ सय ७० मतदाता छन्। प्रदेशमा अन्य मतदाता (तेस्रोलिङ्गी) १८ छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि प्रदेशभर एक हजार एक सय ६१ मतदानस्थल र दुई हजार एक सय ४६ मतदान केन्द्र तोकिएको छ।

तोकिएका मतदानस्थलमा कैलालीमा दुई सय ३७, डोटीमा एकसय १५, बाजुरामा ७०, बझाङमा एकसय ३५ र अछाममा एकसय ३० छन्।

यसैगरी कञ्चनपुरमा एकसय ३२, डडेलधुरामा एकसय एक, बैतडीमा एकसय २९ र दार्चुलामा एकसय १३ मतदानस्थल तोकिएको छ।

सुदूरपश्चिम