Logo
१४ वैशाख २०८१, शुक्रबार

जापान विश्वकपबाट बाहिरियो

अक्षरपाटी
२०७९ मंसीर २० , मंगलबार १२:१२ मा प्रकाशित

काठमाडौं । एसियाली पावर हाउस जापान जारी कतार विश्वकपबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा युरोपियली राष्ट्र क्रोएसियासँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

विजेता क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा जापानले अग्रता लियो । ४४ औं मिनेटमा डाइजेन मेएडाले गोल गर्दै अग्रता दिलाए ।

तर, दोस्रो हाफमा क्रोएसियाले बराबरी गोल फर्कायो । ५५ औं मिनेटमा इभान पेरिसिचले हेडर गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि थप गोल हुन नसक्दा निर्धारित ९० मिनेटको खेल बराबरीमै सकियो । थप गरेको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल निस्किन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्यो ।

पेनाल्टीमा क्रोएसियाले बाजी मार्यो । जापान ३–१ गोलले पारजित भयो । जापानका लागि माया योसिदा, काओरु मितोमा र टुकुमी मिनामिनो पेनाल्टीमा चुके ।

उनीहरुको पेनाल्टी क्राएसियाका गोलरक्षक लिभाकोभिचले बचाए । जापानका टाकुमा आसानोले भने गोल गरे । क्रोएसियाका मार्को लिभाजा पेनाल्टीमा चुक्दानिकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारिओ पासालिचले गोल गरे ।

अब सेमिफाइनल प्रवेशका लागि क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।