काठमाडौं। पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने चलन ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पाँच महिनासम्मका बालबालिकालाई पूर्ण स्तनपान गराउने चलन ५६ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गरेको हो।
मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले यो तथ्यांक चिन्ताजनक भएको बताइन्।
उनले भनिन्, “महिला सौखिन बनेको र देखासिकी गर्ने संस्कारका कारण स्तनपान नगराउने प्रचलन बढेको छ। बच्चा जन्मिएपछि महिलाले बिदा नपाउने समस्याले पनि पूर्ण स्तनपान गराउनेको सङ्ख्या घटेको देखिएको छ, जुन निराशाजनक हो।”
यता मन्त्रालयअन्तर्गतको नीति तथा योजना अनुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेल भन्छन्, “अहिले रोजगारीमा महिलाको सङ्ख्या बढेको छ। प्रजनन स्वास्थ्यसम्बन्धी ऐनले स्तनपानका लागि ९८ दिन बिदाको व्यवस्था गरेको छ। तर निजी क्षेत्रले यसको पालना गरेको छैन। बिदा नपाउँदा पूर्ण स्तनपान ‘ब्रेक’ भएको देखिन्छ।”
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९ छ। तर चिकित्सकले नै गैरकानुनीरूपमा फर्मोला (दूधलाई प्रतिस्थापन गर्ने वस्तु) सिफारिस गर्ने समस्या देखिने गरेको उनको भनाइ छ।
“विशेषगरी सहरी क्षेत्रमा आमाको दूधको विकल्प र फर्मोलाको प्रयोग बढ्नु दुःखद् कुरा हो। कतिपय अवस्थामा गैह्रकानुनीरूपमा चिकित्सकले फर्मोला सिफारिस गरेको देखिन्छ। तर नियमित अनुगमन गर्न सकिरहेको अवस्था छैन।”
पानी, मह, गाई, भैँसीको दूध वा फर्मोला नखुवाई पूर्णरूपमा आमाको दूध खुवाउने प्रचलन घटेको हो। सर्वेक्षणका अनुसार सन् १९९६ मा ७५ प्रतिशत, सन् २००१ मा ६८ प्रतिशत र सन् २००६ मा ५३ प्रतिशत पूर्ण स्तनपान गराउने प्रचलन थियो।
सन् २०११ मा ७० प्रतिशतमा बढेर सन् २०१६ मा भने ६६ प्रतिशतमा झरेको थियो। अहिले सन् २०२२ मा ५६ प्रतिशतले पूर्ण स्तनपान गराउने प्रचलन पाइएको छ।
स्तनपान