काठमाडौं २४ मंसिर। समानुपातिकतर्फका सांसदको आज टुंगो लागाइसक्नुपर्ने छ।
त्यसका लागि आज दलहरुले अन्तिम कसरत गर्दैछन्। कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाको आन्तरिक बैठक बस्दैछ।
निर्वाचन आयोगले आज दिउँसो ४ बजेसम्म समानुपातिकतर्फबाट सांसद बनाउनुपर्नेको नाम बुझाउन समय तोकेपछि दलहरु छलफलमा जुट्न लागेका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र माओवादी केन्द्रको पदाधिकारी बैठक आज छ।
कांग्रेसको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीन जना पुरुष सांसद पठाउन सूचित गरेको छ।
यस्तै, प्रदेश सांसदबारे पनि बैठकले निर्णय गर्ने भएको छ। कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ।
यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक पनि आज बस्दैछ। हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको हो।
एमालेले समानुपातिकमा ३४ सिट पाएकोमा १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ। एमालेले प्रदेशमा ९१ सिट पाएको छ।
नेकपा माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुङ्ग्याएरै सकिएकालेबैठक आज फेरि बस्दैछ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर आज टुंगो लगाइने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिए।
माओवादीले समानुपातिकतर्फ संघमा १४ सिट र प्रदेशमा कुल २९ सिट पाएको छ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ १ सय १० सिटमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जसपा नेपाल र जनमत पार्टीले ५,५ सिट पाएका छन्।
जनमत पार्टीबाहेक अरु ६ दलभित्र समानुपातिकबाट सांसद हुनेको नाम टुङ्ग्याउन सकस भइरहेको छ।
निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सिट बाँडफाँट गरेर क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेसँगै सबै दलभित्र बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप केही दिनदेखि बढेको छ।
आयोगले आजसम्मको समय दिएर दलहरूबाट ३३ प्रतिशत महिला तथा अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुने गरी समावेशी समूहअनुसार बन्दसूचीबाट नाम माग गरेको हो।
आयोगका अनुसार समावेशी समूहअनुसार नामावली पठाउन भनिए पनि संविधानले सुनिश्चित गरेको एक तिहाइ महिला, अपांगता भएका व्यक्ति, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रको प्रतिनिधित्वको हकमा दलहरूलाई विशेषाधिकार छ।
बन्दसूचीको माथिल्लो क्रममा रहेका उम्मेदवारले आफू सांसद बन्न दलभित्र लबिङ बढाइरहेका छन्।
समानुपातिक