Logo
१४ वैशाख २०८१, शुक्रबार

प्रभावशाली नेतादेखि नेताका श्रीमतीसम्म समानुपातिक सांसद

अक्षरपाटी
२०७९ मंसीर २४ , शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं । राज्यसत्ता सञ्चालन र राजनीतिको मूल प्रवाहमा पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि हो समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको ।

तर, दलहरुले आज निर्वाचन आयोगमा बुझाएको सूची हेर्दा समानुपातिक प्रतिनिधित्व पनि पहुँचवाला नेता र उनीहरुकै आसेपासेको कब्जामा परेको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको नेपाली कांग्रेसले ३२ सिट समानुपातिकतर्फ पाएको छ।

समानुपातिकमा पाएको ३२ मध्येमा २९ जना महिला र ३ जना पुरुषको नाम सिफारिस गर्नैपर्ने बाध्यता रहेको कांग्रेसले समानुपातिकतर्फको नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा बुझाएको छ।

तर, समानुपातिकबाट कांग्रेसले पाएको सांसद पहुँचवालाहरूले नै कब्जा गरेका छन्।

प्रत्यक्षबाट केही मात्र महिला निर्वाचित भएको र संघीय संसदमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले कांग्रेसले २९ जना महिलाको नाम सिफारिस गरेको छ।

यसरी कांग्रेसले सिफारिस गरेको २९ महिलामा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण सहित प्रभावशाली महिलाको नाम परेको छ।

समानुपातिकमा कांग्रेसले तीन जना पुरुषको नाम सिफारिस गरेको छ। तीन पुरुषमा पनि कांग्रेसले प्रभावशाली नेताकै नाम छ।

कांग्रेसले केन्द्रीय सदस्य तथा प्रवक्ता प्रकाशशरण महत, सचिव जीवन परियार र सभापतिमा प्रतिस्पर्धा गरिसकेका केन्द्रीय सदस्य बिमलेन्द्र निधिलाई समानुपातिकबाट सांसद बनाएको छ।

महत खस आर्य, निधि मधेशी र परियार दलित कोटाबाट समानुपातिक सांसद बनाउन आयोगलाई सिफारिस गरिएको हो।

परियार निधि र महत जति प्रभावशाली नेता होइनन्। तर, महत र निधि भने धेरै पटक मन्त्रीसमेत भइसकेका कांग्रेसका प्रभावशाली नेता हुन्।

यस्तै प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट ४४ सिट हात पारेको नेकपा एमालेले समानुपातिकतर्फ ३२ सिट पाएको छ।

सोहीअनुसार निर्वाचन आयोगलाई ३२ जनाको नाम सिफारिस गरेको छ।

एमालेले २२ महिला र १२ पुरूषको नाम निर्वाचन आयोगलाई बुझाएको हो। एमालेले बुझाएको सूचीमा नेताका श्रीमतिदेखि क्रिश्चियन धर्मका प्रचारकसम्मको नाम समेटिएको छ।

एमालेले पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापा, क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकाल लगायतको नाम सिफारिस गरेको हो।

त्यसैगरी, एमालेको समानुपातिक सूचीमा प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचन समेत समेटिएका छन्।

एमाले कांग्रेस समानुपातिक