Logo
१५ वैशाख २०८१, शनिबार

तराई क्षेत्रमा अचानक चिसो बढेपछि जनजीवन कष्टकर

अक्षरपाटी
२०७९ पुस १ , शुक्रबार ११:१२ मा प्रकाशित

सर्लाही। सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ।

यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो। दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो।

तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको हो।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।

चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासी रामवली रायले बताए।

चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन्। चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ।

कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ।

बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेको र पशु चौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका स्थानीयवासी विनय महतोले बताए।

चिसो बढिसकेकाले स्वास्थ्यको विशेष ख्याल गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदीप काफ्लेले सुझाव दिए।

उनका अनुसार यो बेला झोलिलो र तातो खानेकुरा प्रशस्त खान, न्यानो कपडा लगाउन सुझाव दिए। चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा सङ्क्रमण हुने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सक काफ्लेले सुझाव दिए।

उता बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा पनि चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो।

चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।

बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो। चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्।

बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्। साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन्।

न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ। सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन्।

कठङ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगञ्ज–१६ का रामप्रसाद थारू बताउछन्।

चिसोकै कारण बिरामीसमेत बढेका छन्। चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन्।

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी पिजिसियन डा सङ्केत रिसालले बताए।

तराईमा चिसो