Logo
११ चैत्र २०७९, शनिबार

जसलाई आफ्नै माटोले मोहित बनायो

अक्षरपाटी
२०७९ पुस ३ , आईतबार ०७:१२ मा प्रकाशित

O अक्षरपाटी
अवसरहरू असरल्ल थिए । खोज्दै हिँडेको भए आफूअनुकूलको जागिर सुविधासम्पन्न सहरहरूतिरै पनि सम्भव थियो । तर डा सुमित पण्डेयलाई सँधै आफ्नै गाउँठाउँले तानिरह्यो ।

नेपाल मेडिकल कलेजबाट सन २००४ मा एमबीबएस सकाएपछि उनी थप अध्ययनका लागि हिँडे । अमेरिकाको युनाइटेड स्टेट मेडिकलबाट सर्टिफाइड जाँच पास गरे । एक वर्ष अमेरिका बसे ।

‘तर त्यहाँ मैले सोचेको पाइन’, डा पाण्डेयले भने, ‘त्यहाँ मुस्किल रहेछ ।’ उनी नेपाल फर्किए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिटिङमा उनको स्कलरसिपमा नाम निस्कियो ।

उनले छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञको पढाइ अगाडि बढाए । सन २०१३ मा उनी एमडी होल्डर बने । नेपालमा धेरै कमले गर्ने यो विद्यामा उनी अब्बल भएर निस्किए।

‘एमडी त गरियो तर मलाई आफ्नै गाउँठाउँमा सेवा गर्न मन थियो’, डाक्टर सेवाको रहर सुनाउँछन्, ‘तर त्यतिबेला सुदूरपश्चिममा यो (निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर) स्तरको अस्पताल नै थिएनन् ।

त्यसपछि उनी थारै टाढा भए पनि जन्मभूमी सुदूरपश्चिमसँगै जोडिएको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञका रुपमा एसोसियट प्रोफेसरका रुपमा सेवा गर्न थाले । आठ वर्षको यो सेवा कालमा पछिल्लो दुई वर्ष उनले असिस्टेन्ट डाइरेक्टर भएर पनि मेडिकल कलेजमा भूमिका निर्वाह गरे ।

यतिबेला भने उनी आफूले खोजे चाहेकै ठाउँ र सोचेजस्तै अस्पतालमा विशेषज्ञका रुपमा सेवारत छन्। डा पाण्डेय अचेल धनगढीमा रहेको सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा सिनियर डाक्टरका रुपमा जोडिएका छन् ।

‘दुई वर्ष मात्रै भयो म निसर्ग हस्पितटलसँग जोडिएको’, डा पाण्डेले भने, ‘आफ्नै ठाउँमा यो स्तरको अस्पताल बनोस, विविध विधाको सेवा प्रदान होस भन्ने चाहना थियो, त्यो अब सम्भव हुँदै गएको छ।’

राम्रो होस भन्ने चाहना सबैको हुने तर त्यसको सुरुवात आफूबाटै गर्नुपर्छ भन्ने लागेर आफू यहाँ आएको उनी बताउँछन् ।

‘राम्रो सेवा होस्, सुविधा होस् भन्ने चाहना आफू सुविधासम्पन्न सहरमा बसेर सम्भव हुँदैन भन्ने लाग्यो’, उनले भने, ‘हामी जो जुन विधामा छौँ, उनीहरु सबैले आ–आफ्नै क्षेत्रमा सेवा दिने हो भने ठाउँ आफै बन्छ जस्तो लाग्यो, अनि म यता आएँ ।’