Logo
७ वैशाख २०८१, शुक्रबार

तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालको राजनीतिक जीवन यात्रा

अक्षरपाटी
२०७९ पुस १० , आईतबार ०८:१२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन।

उनको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ।

पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन्।

विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए। उनले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आएका थिए।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ।

उनी विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका उनी ०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहे।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।

नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म ०११ मङ्सिर २६ गते कास्कीको ढिकुरपोखरी २ लेवाडेमा भएको हो।

पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए।

०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई ०२७– ०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी ०३१–०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका थिए। उनले एमपीएसम्मको अध्ययन गरेका थिए।

नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरेका थिए।

०३८ देखि ०६३ सम्म भूमिगत अवस्थामा रहँदा उनको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो। हाल उनी आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन।

०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका दाहालको ०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो। उनका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ।

उनी नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९) साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए।

०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले रामबहादुर थपा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर ०३१ सालमा मार्कवादी अध्ययन समूह गठन गरेका थिए।

उनी ०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी ०३५ सालमा पूर्णकालीन कार्यकर्ता र ०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए। उनी ०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई ०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।

०४१ मा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, ०४२ मा पोलिटब्युरो सदस्य, ०४६ मा महामन्त्री र ०४८ सालमा एकताकेन्द्रको महामन्त्री भए।

यसैगरी ०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर माओवादी राखेपछि महामन्त्री भएका प्रचण्डले ०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। ०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए।

०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल ०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए।

०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बनेका प्रधानमन्त्री दाहाल ०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए। उनी ०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए। यस्तै, ०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए।

साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन्।

अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन्।

उनी ०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए।
०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित भए।

संविधानसभाको दोस्रो निर्वाचन, ०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड ०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भए।

यस्तै, ०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन।

विसं ०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो। सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट ०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो। सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न ग¥यो।

यस्तै, ०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी गोरखा २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी भए।

सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बनेका छन्।

पुष्पकमल दाहाल