Logo
१३ माघ २०७९, शुक्रबार

यतीको अत्यासलाग्दो दुर्घटना, आफन्त गुमाउनेको मुटुमा कहिल्यै नपुरिने घाउ

अक्षरपाटी
२०७९ माघ ४ , बुधबार ०७:०१ मा प्रकाशित

0 शिवराज योगी

नेपालको आन्तरिक हवाई उडानको इतिहासमा माघ १ गते कालो दिन सावित भयो।

काठमाडौंबाट ६८ यात्रु र चालक दलका ४ सदस्यसहित उडेको यती एयरलाइन्सको उडान नम्बर एनवाईटी- ६९१, नेपाली दर्ता नम्बर एटीआर-७२-२१२ विमान पोखरा विमानस्थलमा अवतरण हुनै पाएन। विमानस्थलभन्दा जम्मा १८ सय मिटर वरै धर्तीमा बजारियो।

दुर्घटनामा ७१ को ज्यान गयो। १ जनाको अवस्था अहिले पनि थाहा हुन सकेको छैन। आश्चर्य नै होस्, उनी जीवित भेटिउन्।

मान्छेले सोचेको कहाँ भइदिन्छ र ! आँटेको सबै कहाँ पुग्छ र ! भइदिन्थ्यो र पुग्यो भने त यती एयरलाइन्सको विमानमा चढ्नेहरु सुरक्षित यात्रा होला भनेरै चढेका थिए। कति माघे संक्रान्ति मनाउन उडेका थिए । कति आफन्त भेट्न यात्रामा थिए । कति अभिभावकको चौरासी पूजामा गन्तव्य तय गरेका थिए।

कैयौँ विदेशी नेपालको प्रमुख पर्यटकीय गन्तव्यको आनन्द लिन यात्रारत थिए। उमंगको मुडमा पो थिए।

बिडम्बना उनीहरुले सोचेको र आँटेको धर्ती छुनुभन्दा दुई, तीन मिनेट अगावै सेतीको किनारमा बजारियो। आगोको लप्काले धुँवा बनायो र सेतीको खोँचमा कहिल्यै नबिउँतिने गरि बिलायो।

योसँगै कैयौँ परिवारजनमा फेरि कहिल्यै नपुरिने घाउ हृदयको अनन्त गहिराइमा खोपिएर बस्यो। छोरा, नातिनातिनासँग हिँडेकाहरु परिवारको अग्रजसामु उपस्थित हुनै पाएनन्। बाआमा पर्खिर बसेका छोराछोरीले उनीहरुको सग्लो अनुहारसम्म देख्नै पाएनन्। अबोधहरु पनि बिलाए आगोको लप्कासँगै।

आफन्तले दुर्घटनामा परेका आफ्नाको अनुहार जिउँदो त देख्न पाएनन् पाएनन्, मृत अवस्थामा पनि सग्लो रुप नियाल्न पाएनन्। सुरक्षा अधिकारी र उद्धारकर्ताहरुले स्वीइइय सुस्केरा निकाल्दै क्षतविक्षत रुपमा शवहरु बटुलिरहँदाको दृश्य नै हृदयविदारक थियो।

नेपाली आकासमा भएको आन्तरिकतर्फको भयानक दुर्घटनाका रुपमा यती एयरलाइन्सको यो घटना दर्ज भइदियो। जुन एक व्यवसायिक कम्पनीको विश्वसनीयताका लागि अपुरणीय क्षति हो।  दुर्घटनाले आफन्त गुमाउने परिवारमा त झन कहिल्यै नपुरिने घाउ दिएर गयो।

नेपाली आकासमा भएको आन्तरिकतर्फको भयानक दुर्घटनाका रुपमा यती एयरलाइन्सको यो घटना दर्ज भइदियो। जुन एक व्यवसायिक कम्पनीको विश्वसनीयताका लागि अपुरणीय क्षति हो।  दुर्घटनाले आफन्त गुमाउने परिवारमा त झन कहिल्यै नपुरिने घाउ दिएर गयो। कहिल्यै निको नहुने चोट बनेर रह्यो।

त्यो मात्र होइन नेपाली हवाइ क्षेत्रको भविश्यमाथि नै यसले थप आशंका उब्जाइदिएको छ। नेपाल नागरिक उड्डय प्राधिकरणले युरोपेली आयोगको कालो सूचीबाट हट्न हवाइ सुरक्षासम्बन्धी सबै मापदण्ड पूरा गरेको दाबी गरिरहँद यतीको विमान दुर्घटनाले गम्भीर ठेस पुर्‍याइदिएको छ। यसले देशकै हवाइ क्षेत्रमाथिको विश्वासमा धक्का लागेकाे छ।

यती एयरलाइन्समाथिको विश्वासलाई त फेरि डगमगाउने नै भयो। त्यो किन भने आइतबारको दुर्घटना यती एयरलाइन्सको १४ औँ जहाज दुर्घटना हुन पुगेकाेछ।

जेठ महिनामा पोखराबाट जोमसोमका लागि उडेको ९ एन-एईटी कलसाइनको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित विमानमा सवार २२ जनाले नै ज्यान गुमाउनुपरेको थियो।

हिमाली तथा पहाडी भेगमा तारा एयरलाइन्सका नाममा हुने उडान पनि यती एयरलाइन्सकै हुन्। आन्तरिक उडानतर्फ अहिलेसम्म भएका ५० दुर्घटनामा २८ प्रतिशत अर्थात १४ दुर्घटना यती एयरलाइन्सकै हुनुले पनि हवाइ सुरक्षामा यतीको संवेदनसीलतामाथि नै प्रश्न उब्जाइदिएको छ।

हुन त विज्ञहरुका अनुसार जहाज दुर्घटना कुनै एक कारणले हुँदैन। भौगोलिक अवस्थिति, खराब मौसम, यान्त्रिक गडबडी, चालकको लापरबाहीलगायका तमाम कारण हुन्छन्।

यद्यपि अधिकांस घटनापछि चालक दलका सदस्यमाथि नै दोष थोपरिने गरेको विषय नौलो होइन। कारण उनीहरु होइन भन्न बाँकी हुँदैनन् भन्ने आवाज पनि सुनिन्छन्। तर जहाज उडाउनुअघि अनिवार्यरुपमा हुनुपर्ने प्रावधिक जाँच कत्तिको इमान्दारीपूर्वक भएको छ ? थोरै जहाजले धेरैतिर सेवा प्रदान गर्ने हतारले त्यसको असर प्राविधिक पक्षमा कति परेको छ ? यी विषयमाथि नियामक निकाय चुकेको वा चुप लागेको हो कि भनेर शंसय गर्ने प्रसस्त ठाउँ छन्।

त्यही भएर नै आइतबारको दुर्घटनालगत्तै मन्त्रिपरिषदको आपतकालीन बैठकले तुरुन्त सबै विमानको प्राविधिक जाँच गर्नू भन्ने आदेश दिनुपरेको हुनुपर्छ।  विडम्बना कतिपय अवस्थामा यात्रुले बोर्डिङपास बनाउन पनि घन्टौँ कुर्नुपर्ने, प्लेनबाट झरेको सामान लिन पनि लामो समय पर्खनुपर्ने व्यवस्थापन भएको अवस्थामा प्राधिकरणले भने २४ घन्टा नहुँदै सबै कम्पनीका विमानहरु परीक्षण गरेर सबै चुस्त भएको विज्ञप्ति निकाल्नु आफैमा उद्देगलाग्दो विषय हो।

भवितव्यबाहेक एयरलाइन्स, प्राधिकरण वा अन्य कोहीकसैको मानवीय कमजोरीका कारण यो बज्रपात आइलागेको हो भने यस्तो बज्रपातको अवस्था फेरिफेरिलाई आउन नदिउँ। किनकि कुनै दिन आफ्नै सन्तान वा आफन्त पनि त्यसरी नै यात्रामा निस्कन सक्छन्। यस्तै असैह्य बज्रपात आफूलाई पनि नपरोस्। 

नियामक निकाय प्राधिकरण नै दबाब र प्रभावमा परेर आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको आरोप नयाँ होइन। त्यो किन पनि भने हरेकजसो दुर्घटनापछि जाँचबुझ आयोग गठन गरिए पनि ती आयोगले दिएका प्रतिवेदन कार्यान्वयन होइन दराजमा हुन्छन्।  प्राधिकरणको त्यसमा दिलचस्पी नै देखिँदैन। कैयौँ प्रतिवेदन प्राधिकरणको दराजमै थन्किनाले यस्ता दुर्घटनाहरु दोहोरिने गरेको विज्ञहरुले बेलाबखतमा भन्दै र बोल्दै आएका पनि छन्।

यती एयरलाइनसको आइतबार दुर्घटनामा परेको विमान मर्मतसम्भार नभएरै, वा प्राविधिक परीक्षण नभएकै कारण हो भनेर अनुमान गर्न त सकिँदैन तर २५ हजारभन्दा धेरै घण्टा उडान भरेका, तीन दशक लामो अनुभव संगालेका वरिष्ठ प्रशिक्षक पाइलट कमल केसी र चाँडै कोपाइलटबाट पाइलट बन्नै लागेकी अञ्जु खतिवडाले उडाएकी थिइन्।

अवतरण गर्नैलाग्दा विमान एकाएक हल्लिँदै खस्यो कसरी ? यो प्रशिक्षणको परिणाम हो भने पनि यति धेरै यात्रुको जीवनमाथि खेलाँची गर्ने छुट कसैलाई हुनुहुँदैन थियो। कम्तिमा अब उप्रान्त नहोस भन्ने कामना गरौँ।

अवतरणका लागि एटिसी टावरबाट अनुमति पाइसकेको अवस्थामा अकल्पनीय रुपमा भएको त्यो दुर्घटनाले उड्डयन क्षेत्रकै जानकारहरु पनि हैरान छन्। प्रश्नहरु तमाम छन्।

जे हुनु भइगयो, भोग्नेले भोग्नै नसक्ने पीडा भोग्नैपर्ने भयो। यती एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरुको परिवारको छाती जुनीभर चहराउने नै हो तर जति ठूलो पहुँच र शक्ति भए पनि कम्तिमा मानवीयताको नाताले सोच्नैपर्ने विषय के हो भने, यदि भवितव्यबाहेक एयरलाइन्स, प्राधिकरण वा अन्य कोहीकसैको मानवीय कमजोरीका कारण यो बज्रपात आइलागेको हो भने यस्तो बज्रपातको अवस्था फेरिफेरिलाई आउन नदिउँ।

किनकि कुनै दिन आफ्नै सन्तान वा आफन्त पनि त्यसरी नै यात्रामा निस्कन सक्छन्। यस्तै असैह्य बज्रपात आफूलाई पनि नपरोस्।

यती एयरलाइन्स शिवराज योगी