Logo
३१ असार २०८२, मंगलबार

रवि लामिछानेविरुद्धको उजुरी प्रहरी र अध्यागमन विभागले लिन गर्यो अस्वीकार !

अक्षरपाटी
२०७९ माघ १७ , मंगलबार ०५:०१ मा प्रकाशित

काठमाडौं १७ माघ । रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफलले जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो । सिन्धुलीका पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन् । यद्यपि अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग छ । राहदानी ऐनको दफा २१ (क)मा झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

अध्यागमन विभागमा दिइएको उजुरीमा लामिछानेमाथि ‘जाली राहदानी’ प्रयोग गरेको आरोप लगाउदै अध्यागमन ऐन अनुसार छानबिन र कारवाहीको माग छ । अध्यागमन विभागमा दिएको जाहेरीमा जाली राहदानी प्रयोग गरेको आरोप छ ।

ऐनको दफा ५ मा रहेको ‘जाली राहदानी वा भिसा प्रयोग गर्न नहुने’ सम्बन्धी प्रावधानमा भनिएको छ, ‘कसैले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुनै कुरा ढाँट्न, झुठ्ठा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्न गराउन हुँदैन ।’

जाहेरीमा राहदानी ऐनको उल्लंघन गरी लामिछानेले झुटो विवरण पेश गरेर राहदानी लिएको उल्लेख छ । यो आरोप प्रमाणित भए ७५ हजार रुपैंयासम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।