Logo
२४ वैशाख २०८३, बिहीबार

शंकटको निकास सडकको हिंसाबाट होइन, मत र संवादवाट : प्रधानमन्त्री

अक्षरपाटी
२०८२ पुस ५ , शनिबार ०९:१२ मा प्रकाशित

फागुन २१लाई राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गर्न प्रधानमन्त्री को अपिल

  • मापदण्ड पिपरित खटिएका पाँच सय सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरि जनताको सेवामा परिचालन
  • अनावश्यक ३८ वटा कार्यालय खारेज गरि ३२३ वटा दरबन्दी कटौती
  • मिलेमतोमा ठेका हात पार्ने, कामै नगर्ने र राज्यको ढुकुटी दुरुपयोग गर्ने माखेसाङ्लो तोड्न सरकार लागिपरेको
  • अब तीं नमिठा पलहरुलाई बिर्सेर सुन्दर र स्थिर भविश्यतर्फ अघि बढ्न अपिल

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गर्न सबैपक्षसँग अपिल गरेकी छन्।

उनले हरेक शंकटको निकास सडकको हिंसाबाट नभएर संवाद र जनताको मतबाट खोज्नु नै जिवन्त लोकतन्त्रको सौन्दर्य भएको बताएकी छन्।

शुक्रबार सरकारको १०० दिन पुरा भएको अवसरमा विशेष भिडियो सन्देशमार्फत प्रधामन्त्री कार्कीले ‘के साँच्चै देश निर्वाचनतर्फ अघि बढेको हो ?’ भन्दै जिज्ञासा र भ्रम फैलाउनेहरुप्रति संकेत गर्दै भिडियो सन्देशमा भनिन्, ‘प्रतिनिधिसभाको निर्वाचन केवल कार्यतालिका मात्र रहेन यो हाम्रो देशलाई स्थिरता दिने र देशमा नयाँ युगको सुरुवात गर्ने निर्विकल्प मार्ग हो।’

उनले चुनाव सार्ने वा रोक्ने हल्लाहरु पूर्णतः निराधार भएको देश र दुनियासामु स्पस्ट पार्न चाहेको बताएकी छन्। सरकार तोकिएकै समयमा निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गर्न चट्टान झैँ दृष्ढ रहेको समेत अडान व्यक्त गरेकी छन्।

त्यसका लागि सरकारले सबै तयारी पुरा गरिसकेको, सुरक्षाको सवालमा कुनै कसर बाँकी नरहेको, एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको जानकारी गराइन्।

लुटिएका अधिकांस हतियार बरामद गरिएको र त्यस अतिरिक्त ३२ थान हतियार पनि बरामद गरिएको, क्षतिग्रष्त भएका ४६५ प्रहरी कार्यालयहरु पुनः सञ्चालनमा ल्याएर सुरक्षा व्यवस्था चुस्त बनाइएको उनले जानकारी गराएकी छन्।

निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको, मतदाना नामावली ऐन संसोधन गरेर निर्वाचनको मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरि आज १ करोड ८१ लाख नेपालीको हातमा देशको भाग्य र भविश्य काेर्न अवसर रहेको जानकारी भिडियो सन्देशमा दिइन्।

११४ दल निर्वाचन प्रक्रियामा सहभागी हुनुले पनि लोकतन्त्रको जरा कति फराकिलो र बलियो भएको प्रष्ट पारेको उनले बताइन्। विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा रहेको विश्वास प्रधानमन्त्री कार्कीले व्यक्त गरिन्।

उनले जेनजी युवाहरुलाई सम्वोधन गर्दै भनिन्, ुतपाईँहरुको सपना र आक्रोसलाई अब मतपत्रमा व्यक्त गर्नुहोस, सडकको आन्दोलनले प्रश्न उठाउँछ, मतपत्रले समाधान दिन्छ।’

सबै राजनीतिक पक्षलाई सम्बोधन गर्दै उनले आजभन्दा सय दिन अगाडि देशको अवस्था के थियो र आज के छ भनेर तुलना गरिहेर्न समेत अपिल गरिन्।

असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन आफ्नो मन्त्रिपरिषदका सदस्य, सुरक्षा निकाय, राष्ट्र सेवक र नागरिक समाजका सदस्यहरुले अथक प्रयास गरेको उनले स्मरण गरिन्।

खासगरि सुरक्षा निकायको मनोबल अहिलेका लागि मात्र होइन दीर्घकालसम्म बढाउने काम सरकारले गरेको पनि उनले स्मरण गराइन्।

विगतमा शक्तिको आडमा दबाउन खोजिएका भ्रष्टाचार र अपराधका प्रकरणहरुमा अनुसन्धान गर्ने निकायले हाल पूर्ण व्यवसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएको र तीं कारवाहीले जति शक्तिशाली व्यक्ति भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको पनि उनले प्रस्ट पारिन्।

मिलेमतोमा ठेका हात पार्ने, कामै नगर्ने र राज्यको ढुकुटी दुरुपयोग गर्ने माखेसाङ्लो तोड्न पनि सरकार लागिपरेको उनले बताइन्।

त्यो मात्र होइन सय दिनको अवधिमा सरकारले फजुल खर्च नियन्त्रण र वित्तिय सुशासनमा ठोस कदम चालको, पदमा रहँदा र अवकासपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवान्छित सुविधा कटौति गरेर जनताले तिरेको कर जोगाएको उनले स्पस्ट पारिन्।

मापदण्ड पिपरित खटिएका पाँच सय सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरि जनताको सेवामा परिचालन गरिएको, अनावश्यक ३८ वटा कार्यालय खारेज गरि ३२३ वटा दरबन्दी कटौती गरि राज्यको व्ययभार घटाएको उनले प्रष्ट पारिन्।

१ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुनःप्राथमिकिकरण गरि विकासका ठूला आयोजनामा स्थानान्तरण गरिएको, थलिएका व्यवसायीहरुका लागि एकीकृत व्यवसायी पुर्नराेत्थान योजना कार्यान्वयनमा ल्याइएको सन्देश उनले भिडियामार्फत दिएकी छन्।

हेलो सरकारमार्फत ५० हजार गुनासा सम्बोधन गरिएको, काठमाडौंमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिए, राष्ट्रिय प्रसारण लाइनमा १०१ मेघावाट विधुत थपिएको उनले बताइन्।

उनले जेनजी आन्दोलनले सडकहरुमा फरक कम्पन पैदा गरेको बताउँदै प्रधानमन्त्री कार्कीले त्यो छटपटी र त्यो आक्रोसले समाजलाई केही हदसम्म विथोल्ने प्रयास गरे पनि त्यसको भित्रि सन्देशलाई सरकारले गम्भिरतापूर्वक लिएको बताएकी छन्।

भदौ २३ र २४ को घटनापछि देश फेरि शान्तिको बाटोमा फर्किएको बताउँदै प्रधानमन्त्री कार्कीले घटनामा ज्यान गुमाउनेलाई सहीद घोषणा गरेको, घाइते योद्धाको उपचार र जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको जानकारी समेत उनले गराइन्।

भौतिक पूर्वाधार पुर्ननिर्माण कोष मार्फत क्षतिग्रस्ट संरचना निर्माणको काम थालिएको उनले भिडियो सन्देशमा बताएकी छन्।

प्रधानमन्त्री कार्कीले अब तीं नमिठा पलहरुलाई बिर्सेर सुन्दर र स्थिर भविश्यतर्फ अघि बढ्न समेत अपिल गरिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुनदृष्टि बनाएको स्पस्ट पार्दै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा राष्ट्रिय एकता बनाइराख्न विशेष अपिल गरेकी छन्।

चुनावमा कसले जित्छ, कसले हार्छ भन्नेभन्दा पनि हाम्रो राष्ट्रियता र लोकतन्त्रले जित्नु नै सबैभन्दा ठूलो कुरा भएकाले अराजकताले कसैलाई खुशी नदिने बताउँदै शान्ति र स्थिरताले समृद्धिको ढोका खोल्ने सन्देश उनले स्पस्ट रुपमा दिएकी छन्।

https://drive.google.com/file/d/1bhzpAlSMJs74jSmp1m9JRrH9vvk1HGGf/view

प्रधानमन्त्री सुशीला कार्की