Logo
१६ चैत्र २०८०, शुक्रबार

धनगढीमा नेपालकै पहिलो कृषि मार्ट सञ्चालनमा

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार ०८:०२ मा प्रकाशित

धनगढी १८ माघ। कृषिजन्य उत्पादन, बीउबिजन र कृषिसँग सम्बन्धित सबैखाले यन्त्र एउटै ठाउँमा पाइने गरी धनगढीमा अत्याधुनिक कृषि मार्ट सञ्चालनमा आएको छ।

धनगढी चौराहा नजिकै भित्री सडकमा पाँच करोडको लागतमा सञ्चालनमा ल्याइएको मार्टमा उपभोक्ताले तरकारी, फलफूल, अन्नलगायत कृषि उत्पादन, कृषिका लागि आवश्यक बीउबिजन, कृषि उपकरण खरिद गर्न पाइने व्यवस्था छ।

विष्णु बुर्लाकोटीले सञ्चालनमा ल्याएको मार्टमा बीउबीजन, मलखाद, कृषि सम्बन्धि विज्ञ सेवा तथा भेटेरिनरीका औजार र मेसिन, अर्गानिक तरकारी, फलफुल, खाद्य सामग्री, फ्रोजन मासु तथा हस्तकलाका सामग्री र सुदूरपश्चिमका परम्परागत खानाका परिकार राखिएको छ।

कृषिजन्य सामग्रीका लागि दशतिर धाउनुपर्ने वाध्यता हटाउन मार्ट सञ्चालनमा ल्याइएको उनले बताए।

कृषि मार्ट सञ्चालनले किसानलाई कृषि उपजको बजारीकरणमा सजिलो हुने उनको दाबी पनि उनको छ।

सञ्चालक बुर्लाकोटीले भने, ‘मार्टमा उपभोक्ताले गुणस्तरीय कृषि उपज पाउनेछन्। किसानले बीउ, मलखाद, कृषि यन्त्र आदि आवश्यक सामग्री एकै ठाउँमा खरिद गर्नसक्ने छन्।’

किसानले उत्पादन गरेका तरकारी, फलफूल, दुग्धजन्य पदार्थ आदि उपज खरिद गरेर बिक्री गरिने सञ्चालकले बताएका छन्।

किसानलाई कृषि प्रविधिबारे जानकारी दिन तालिम तथा सेमीनारहरुबारे नियमित रुपमा जानकारी गराइने पनि उनले बताए।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले मार्टको उद्घाटन गरेका हुन्। उनले मार्ट सञ्चालनमा आउनुले कृषिको प्रवद्र्धनका साथै अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कृर्षि मार्ट धनगढी